शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

चिसो मौसममा बेँसी झारिएका भेडीगोठ पुनः लेकतर्फ लैजान थालियो

images
बुधबार, वैशाख १० २०८२
images
चिसो मौसममा बेँसी झारिएका भेडीगोठ पुनः लेकतर्फ लैजान थालियो

लमजुङमा अधिकांश गुरुङ समुदायका बस्तीमा अझै पनि भेडाको ऊनबाट विभिन्न सामग्री बनाएर बिक्री गर्ने तथा प्रयोग गर्ने प्रचलन कायम छ।

images
images

लमजुङ- बेँसी आइपुगेर घुम्ती भेडीगोठमा रहेका भेडाका बथान यतिबेला चरणका लागि लेक तथा हिमाली भेगतर्फ जान थालेका छन्। गर्मी मौसम सुरु भएसँगै चरणमा समस्या आउन थालेपछि बेँसी झेरका भेडाका बथान गर्मी सुरु भएसँगै लेक तथा हिमाली भेगतर्फ जान थालेका हुन्।

images
images
images

जिल्लाका घुम्ती गोठका गोठालाहरूले आ-आफ्ना भेडाका बथान यतिबेला लेक तथा उच्च खर्कतिर लैजान थालेका यहाँस्थित पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा सुनिल न्यौपानेले बताए। जिल्लामा सानाठूला गरेर तीनसय भन्दा बढी घुम्ती भेडीगोठ रहेका जनाउँदै ती बेँसीबाट लेक जान थालेका उनले बताए।

images
images

कार्यालयका अनुसार भुजुङ, सिउरुङ, घलेगाउँ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायत ग्रामीण क्षेत्रमा भेडीगोठ छन्। हिमाली भेगहरूबाट चिसो छल्न बेँसी झेरेका भेडीगोठ पुनः लेकतिर पुग्न थालेका छन्। विशेषगरी गुरुङ समुदायको पुर्ख्यौली चलन तथा पेसाका रूपमा भेडीगोठलाई हेरिन्छ।

images
images

भेडीगोठाला कमल अधिकारीले भने, 'चिसो मौसममा बेँसी झारिएका भेडीगोठ पुनः लेकतर्फ लैजान थालेका छौँ। केही समयमा हिमालको काखमा रहेको ठूले लेकमा पुग्ने छौँ।' उनले गर्मी यामको ६ महिना लेक र चिसो यामको ६ महिना बेँसीमा भेडीगोठ राख्ने गरिएको जानकारी दिए।

लमजुङ दोर्दी गाउँपालिका-५ सिम्रुङका ५२ वर्षीय भेडीगोठाला दुरजङ गुरुङले चिसो छल्न बेँसी झारेका भेडीगोठ फागुन लागेसँगै लेकतर्फ लगेको भन्दै यतिबेला लमजुङ र गोरखाको सिमना चेपेखोलाको शिरमा पुगेका जानकारी दिए। बेँसीबाट भेडाबाख्रा चराउँदै श्रीमञ्जाङबाट ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेखर्कतर्फ लागेका छन्। उनका अनुसार भेडीगोठमा सानाठूला भेडा तथा बाख्रा गरेर आठ सयभन्दा बढी छन्।

चिसो छल्न गाउँ आइपुगेका पसगाउँको भेडीगोठका बथान यतिबेला क्युबे-ल्हेदेतर्फ पुग्न थालेका स्थानीयको भनाइ छ। जिल्लाको उत्तरी ताघ्रिङका भेडीगोठ यतिबेला थुर्जुलेक खर्कतिर पुग्न थालेको छन्। लमजुङका भेडीगोठहरू लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काखलगायत ठाउँसम्म पुग्ने गरेका भेडीगोठाला बताउँछन्।

बेँसीमा रहेको बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग हुने बताउँदै पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा न्यौपानेले भेडाको ऊन निकालेर राडीपाखी, बख्खुलगायत सामग्री बनाइने जानकारी दिए। उनका अनुसार जिल्लाभर २३ हजार भेडाबाख्रा छन्। 

वार्षिक १० हजार किलो ऊन निस्कने र ऊन प्रतिकिलो तीनसय रूपैयाँमा बिक्री हुने न्यौपानेले जानकारी दिए। वार्षिक एकसय ६० मेट्रिकटन भेडाको मासु उत्पादन हुन्छ। मासु बिक्रीबाट आठ करोड रूपैयाँ आम्दानी हुने गरेको केन्द्रले जनाएको छ।

वार्षिक घुम्ती भेडीगोठमा रहेका बाख्राको मासु एकसय २० मेट्रिकटन तथा घुम्ती र घरमा पालिएका बाख्रा गरी वार्षिक एक हजार २०० मेट्रिकटन मासु उत्पादन हुँदा ६० करोड रूपैयाँ आम्दानी हुँदै आएको केन्द्रका निमित्त प्रमुख डा न्यौपानेले जानकारी दिए।

जिल्लामा वार्षिक ६० करोड रूपैयाँ आम्दानी हुँदै आए पनि पछिल्लो पुस्ताले बेवास्ता गर्दा परम्परागत रूपमा रहेको भेडीगोठ लोप हुने अवस्थामा पुग्न थालेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन्। जिल्लामा अधिकांश गुरुङ समुदायका बस्तीमा अझै पनि भेडाको ऊनबाट विभिन्न सामग्री बनाएर बिक्री गर्ने तथा प्रयोग गर्ने प्रचलन कायम छ।

यो पेसा विशेषगरी अग्रज पुस्तामा मात्र सीमित हुँदा परम्परागत परम्परा लोप हुने अवस्थामा पुगे उनीहरूको गुनासो छ। यहाँ उत्पादित भेडाको ऊन र ऊनबाट बनाइएका विभिन्न सामग्रीको बजारमा उच्च माग रहेको छ। रासस


प्रकाशित : बुधबार, वैशाख १० २०८२१३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend