शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

धनगढी विमानस्थलको मुआब्जा प्रकरणमा लेखा समितिको छानबिनमा तानिए तत्कालीन पर्यटनमन्त्री प्रेम आले

७ दिनभित्र विवरण पेस गर्न पर्यटन र भूमि व्यवस्था मन्त्रालयलाई पत्र

मंगलबार, वैशाख ९ २०८२
धनगढी विमानस्थलको मुआब्जा प्रकरणमा लेखा समितिको छानबिनमा तानिए तत्कालीन पर्यटनमन्त्री प्रेम आले

पूर्वपर्यटनमन्त्री प्रेम आलेको समूहले उनी मन्त्री हुँदै बैंकबाट लिएको १ अर्बमध्येको २५ करोड रकमसमेत अपचलन गरेको उजुरीमा उल्लेख छ।

काठमाडौं- पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले धनगढी विमानस्थलका नाममा करोडौँको चलखेल र जालझेल गरेको विषयमा संसदको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ। गत बैशाख ४ गते समितिमा आलेविरुद्ध उजुरी परेको थियो।

लेखा समितिले आज मंगलबार पर्यटन मन्त्रालय र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई ७ दिनभित्र विवरण पेस गर्न पत्र काटेको छ। धनगढी विमानस्थल प्रकरणमा अख्तियार दुरुपयोग आयोगले अनुसन्धान अगाडि बढाइरहेका बेला लेखा समितिले पनि छानबिन सुरू गरेको हो।

गत बैशाख ४ गते परेको उजुरीमा आलेको ग्राण्ड डिजाइनमा कम्पनी नै खडा गरी जग्गा खरिदमा भएको अनियमितता र करोडौँ रकम अपचलन भएको भन्दै छानबिन गरेर कारबाही गर्न माग गरिएको थियो।

आलेले बैंकलाई समेत गुमराहमा राखेर राज्यको ढुकुटीबाट बजेट दुरुपयोग गरेर व्यक्तिगत कम्पनी (अशोक जोशी र हेमन्त रेग्मीको नाममा) खडा गर्दै जग्गा खरिद गरेको समेत उजुरीमा उल्लेख गरिएको छ।

आलेले तत्कालीन मेघा बैंकका कर्मचारी अमित श्रेष्ठ, बिटुमिन ठेकेदार तथा बिचौलिया पवन गुप्ता र आफ्ना पीए (स्वकीय सचिव) हेमन्त रेग्मी र निजको फुपुको छोरा घोडाघोडी नगरपालिकाका इन्जिनियर अशोकसमेतलाई मिलाएर विमानस्थल आसपासमा हेमन्तको सेटिङमा पवन गुप्ता र तेन्जिङ शेर्पा समेतबाट जग्गा खरिद गरेको उजुरीमा उल्लेख गरिएको छ।

उक्त विमानस्थल क्षेत्रको विस्तार गर्ने भन्दै आलेले बजेट विनियोजन गरेको भनेका बेलामा पनि उनीहरुले सो क्षेत्रमा जग्गा किनेको चर्चा चलेको थियो। 

आलेले मन्त्री हुँदा सुरुमा नै प्राधिकरण नेतृत्व र प्राविधिक कर्मचारीहरुलाई धम्काइ धनगढी विमानस्थल आसपासमा जग्गा किन्ने तयारी थालेका थिए। त्यसपछि सोही योजनाअनुरुप अशोक र हेमन्तको नाममा एक कम्पनी खडा गरेर मन्त्री भएकै मौकामा मन्त्रालय मातहत रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको मुद्दती खातामा रहेको १ अर्ब रूपैयाँ मेघा बैंकमा जम्मा गर्न लगाएका थिए।

त्यसपछि उनले बैंकमा सेटिङ गरेर बैंकबाट जग्गा धितो राख्दै १ अर्ब ऋण लिएको र सोही रकमले धनगढी विमानस्थल आसपासमा ७५ करोड बराबरको ३० बिघा जग्गा किनेका थिए। त्यसमा उनका पीए हेमन्त र फुपुको छोरा अशोकसमेतलाई मिलाएर जग्गा खरिद गरिएको थियो।

आलेको समूहले प्रतिकट्ठा साढे १२ लाखका दरले किनेको जग्गालाई पछि विमानस्थल बन्दा ५० लाख प्रतिकट्ठाका दरले बेच्ने योजना राखेको थियो।

अन्य व्यापारिक संरचना निर्माण गर्न सकिने पनि उनीहरुको योजना रहेको थियो। तथापी आले पर्यटनमन्त्रीबाट हटेपछि विमानस्थल विस्तारको योजना अलपत्र परेसँगै उनीहरूको योजना पनि अलपत्र परेको थियो।

पूर्वपर्यटनमन्त्री आलेको समूहले उनी मन्त्री हुँदै बैंकबाट लिएको १ अर्बमध्येको २५ करोड रकमसमेत अपचलन गरेको उजुरीमा उल्लेख गरिएको छ। मन्त्री हुँदा आलेले धनगढी विमानस्थल विस्तारको योजना ल्याएर २०७८ पुस ११ गते तत्कालीन पर्यटनमन्त्री आलेको अध्यक्षतामा प्राधिकरण सञ्चालक समितिको एउटा बैठकबाट प्राधिकरण व्यवस्थापन र प्राविधिक कर्मचारीलगायत सञ्चालक समिति समेतलाई दबाब दिइ धनगढी विमानस्थलको विस्तार गर्न भन्दै एक अर्ब बजेट विनियोजन गर्ने निर्णय भएको थियो।

उक्त बेला धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्न २५८ बिघा जमिन अधिग्रहण गरेर १८ सय मिटरको धावनमार्गलाई बढाएर २ हजार ५ सय मिटरको बनाउने निर्णयसमेत भएको थियो। विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्न जमिन अधिग्रहणका लागि स्रोत सुनिश्चित नै नगरी उक्त समयमा बजेट विनियोजन गरेको थियो।

तत्कालीन पर्यटनमन्त्री आले अध्यक्ष रहेको उड्डयन प्राधिकरण सञ्चालक समितिको मिति २०७७ पुस ११ मा बसेको बैठकबाट प्राधिकरण र प्राविधिक कर्मचारीलगायत सञ्चालक समितिलाई दबाब दिइ आफू मन्त्री रहेकै समयमा आफ्नै सम्बन्धित प्राविधिकरणबाट स्थलगत निरीक्षण तथा चेकजाँच समेत गराइ उक्त विमानस्थलको गुरु‌योजनासमेत स्वीकृत गराएका थिए। 

धनगढी विमानस्थल प्रकरण : तत्कालीन पर्यटनमन्त्री आलेविरुद्ध अख्तियारले छानबिन थालेसँगै लेखा समितिमा पनि उजुरी धनगढी विमानस्थल प्रकरण : तत्कालीन पर्यटनमन्त्री आलेविरुद्ध अख्तियारले छानबिन थालेसँगै लेखा समितिमा पनि उजुरी

धनगढी विमानस्थलको मुआब्जा र जग्गा खरिद प्रकरणमा अख्तियारको छानबिनमा तानिए तत्कालीन पर्यटनमन्त्री आले धनगढी विमानस्थलको मुआब्जा र जग्गा खरिद प्रकरणमा अख्तियारको छानबिनमा तानिए तत्कालीन पर्यटनमन्त्री आले

 


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend