शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

खोटाङमा अझै दुई हजारभन्दा बढी घरपरिवारमा पुगेको छैन विद्युत सुविधा

images
आइतबार, वैशाख ७ २०८२
images
खोटाङमा अझै दुई हजारभन्दा बढी घरपरिवारमा पुगेको छैन विद्युत सुविधा

केन्द्रीय प्रसारण लाइनको विद्युत् झ्याप्प आउने-जाने समस्याका कारण विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ।

images
images

खोटाङ- दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरणले गरेको सर्वेक्षणअनुसार ८६ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रसारण लाइन तथा १० प्रतिशतमा माइक्रो हाइड्रो र सोलार ग्रिडबाट विद्युत् बलेको पाइएको हो।

images
images
images

केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको २५ वर्ष पूरा हुँदा पनि जिल्लामा अझै दुई हजारभन्दा बढी घरपरिवार उपभोक्तामा विद्युत् पुगेको छैन। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिक्तेल बजारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् औपचारिक रूपमा उद्घाटन गरेका थिए।

images
images

विद्युत् प्राधिकरणले दिएको जानकारीअनुसार जिल्लामा माइक्रो हाइड्रोबाट तीन हजार ४३० र सोलार ग्रिडबाट २८३ घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरिरहेका छन्। विद्युतीकरण हुन बाँकी जिल्लाका दुई हजार बढी घरपरिवार उपभोक्तामध्ये कतिपयले अझै पनि मट्टितेलको धिप्री तथा सोलार टुकीको भर पर्नुपर्ने अवस्था रहेको जनाइएको छ।

images
images

विद्युत् बल्न बाँकी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्‍याउन पाँच करोड रूपैयाँ बजेट आवश्यक पर्ने विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले जानकारी दिए।

'हामीले गरेको सर्वेक्षणअनुसार जिल्लाका दुई हजार उपभोक्ताको घरमा विद्युतीकरण हुन बाँकी छ। यसका लागि हामीले केन्द्रमा बजेटसमेत माग गरेका छौँ', उनले भने, 'केन्द्रबाट बजेट स्वीकृत भएर आएको खण्डमा आगामी वर्ष नै जिल्लामा पूर्ण विद्युतीकरणको काम सम्पन्न हुन्छ। त्यसका लागि सम्बन्धित ठाउँमा पहल गरिरहेका छौँ।'

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपास्थित सबस्टेसनबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका उपभोक्तालाई विद्युत् वितरण गरिएको छ। तीन जिल्लाका उपभोक्ताका लागि वितरण गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युतमा पटकपटक समस्या देखिने गरेको छ भने उक्त समस्या दीर्घकालीन रूपमा समाधान गर्न टावर अनिवार्य जडान गर्नुपर्ने विज्ञहरूले बताएका छन्।

जिल्लामा उत्पादन गरिएका तीनवटा जलविद्युत् आयोजनाबाट १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन्। साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाइड्रोपावर गरी १०.६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो।

हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत् आयोजना ६.६ मेगावाट, केपिलासगढी गाउँपालिका-६ दिप्सुङ र वडा नं ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ। जिल्लाका फरक-फरक तीनवटा खोलाबाट उत्पादन गरिएका जलविद्युत् बुइपास्थित ३३ केभी प्रसारण लाइनमा जोडिएका छन्।

विद्युत् प्राधिकरणले दिएको जानकारीअनुसार जिल्लामा उत्पादित विद्युत्मध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन। जिल्लामा विस्तार गरिएका केन्द्रीय प्रसारण लाइनको विद्युत् पटकपटक अवरुद्ध हुँदा उपभोक्ता हैरानीमा पर्ने गरेका छन्। यतिसम्म कि अलि बढी पानी पर्दा, अलि ठूलो हावा चल्दा र बाढीपहिरो आउनासाथ विद्युत् अवरुद्ध हुने गरेको छ। एकैदिन दर्जनौँपटक विद्युत् आउने र जाने समस्याले तीन सेवाग्राही मारमा पर्दै आएका छन्। 

केन्द्रीय प्रसारण लाइनको विद्युत् झ्याप्प आउने-जाने समस्याका कारण विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ। लामो दुरी, जंगलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटकपटक विद्युत् अवरुद्ध हुने गरेको प्राधिकरणले जनाउँदै आएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख ७ २०८२१२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend