शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

२६ खर्ब ६७ अर्ब पुग्यो सार्वजनिक ऋण, नौ महिनामा ३ खर्ब ६६ अर्ब ऋण उठाइयो

images
शनिबार, वैशाख ६ २०८२
images
२६ खर्ब ६७ अर्ब पुग्यो सार्वजनिक ऋण, नौ महिनामा ३ खर्ब ६६ अर्ब ऋण उठाइयो

चैत मसान्तसम्ममा नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रूपैयाँ पुगेको कार्यालयले जनाएको छ।

images
images

काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म साढे तीन खर्बभन्दा बढी ऋण उठाएको छ भने साढे दुई खर्बभन्दा बढी साँवा-ब्याज तिरेको छ।

images
images
images

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको २०८१ चैत मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रूपैयाँ थियो भने पछिल्लो नौ महिनामा दुई खर्ब ३३ अर्ब १७ करोड रूपैयाँ ऋण थपिएको छ। यसरी चैत मसान्तसम्ममा नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रूपैयाँ पुगेको कार्यालयले जनाएको छ।

images
images

'चैत मसान्तसम्ममा सार्वजनिक ऋण कुल ग्राहस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ४६ दशमलव ७५ प्रतिशत हुन आउँछ। कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव १९ र आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ८१ प्रतिशत छ', प्रतिवेदनमा भनिएको छ। मुलुकको हालसम्मको कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब एक अर्ब ९४ करोड र बाह्य ऋण दायित्व १३ खर्ब ६५ अर्ब ३२ करोड रूपैयाँ बराबर छ।

images
images

सरकारले यस आर्थिक वर्षका लागि करिब साढे पाँच खर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकामा गत चैत मसातसम्म ६७ प्रतिशत हाराहारी उठिसकेको छ। 'चालु आर्थिक वर्षमा जम्मा पाँच खर्ब ४७ अर्ब रूपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा चैत मसान्तसम्ममा तीन खर्ब ६६ अर्ब नौ करोड रूपैयाँ ऋण प्राप्ति भएको छ। वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक प्राप्ति ६६ दशमलव ९३ प्रतिशत रहेको छ', प्रतिवेदनमा भनिएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सरकारले दुई खर्ब ९१ अर्ब १४ करोड रूपैयाँ आन्तरिक ऋण उठाएको हो भने ७४ अर्ब ९५ करोड रूपैयाँ बाह्य ऋण उठाएको हो। वार्षिक लक्ष्यको तुलनामा हालसम्मको आन्तरिक ऋणको प्राप्ति ८८ दशमलव २२ प्रतिशत र बाह्य ऋणको प्राप्ति ३४ दशमलव ५४ प्रतिशत बराबर हो। यस आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ३० अर्ब रूपैयाँ आन्तरिक ऋण र दुई खर्ब १७ अर्ब रूपैयाँ बाह्य ऋण उठाउने लक्ष्य राखेको छ।

सार्वजनिक ऋण निरन्तर बढ्दै गएसँगै त्यसको साँवा-ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मात्रै करिब साढे दुई खर्बभन्दा बढी रकम साँवा ब्याज भुक्तानीमा खर्च भएको छ। 'चालु आर्थिक वर्षमा ऋण सेवा खर्चमा चार खर्ब दुई अर्ब ८५ करोड रूपैयाँ बजेट विनियोजन भएकोमा चैत मसान्तसम्म दुई खर्ब ५२ अर्ब ४८ करोड रूपैयाँ भुक्तानी भएको छ', सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भनेको छ, 'यो वार्षिक विनियोजनको आधारमा ६२ दशमलव ६७ प्रतिशत हो। जीडीपीको आधारमा चैत मसान्तसम्ममा कुल ऋण सेवा खर्च चार दशमलव ४३ प्रतिशत रहेको छ।'

पछिल्लो नौ महिनामा आन्तरिक ऋणको साँवाब्याज भुक्तानीका लागि मात्रै दुई खर्ब १२ अर्ब ९३ करोड रूपैयाँ खर्च भएको छ। आन्तरिक ऋणको साँवा तिर्नका लागि एक खर्ब ७० अर्ब नौ करोड रूपैयाँ र ब्याज तिर्नका लागि ४२ अर्ब ८४ करोड रूपैयाँ बराबर खर्च भएको हो।

त्यस्तै, बाह्य ऋणको साँवा ब्याज तिर्नका लागि ३९ अर्ब ४३ करोड रूपैयाँ बराबर खर्च भएको छ। जसमध्ये बाह्य ऋणको साँवा तिर्नका लागि ३२ अर्ब ९३ करोड रूपैयाँ र ब्याज तिर्नका लागि ६ अर्ब ६१ करोड रूपैयाँ खर्च भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनले मात्रै ७० अर्ब नौ करोड रूपैयाँ बराबर सार्वजनिक ऋणको दायित्व थपिएको कार्यालयले जनाएको छ।

नेपालले वैदेशिक ऋण ‘स्पेशल ड्रइङ राइट’ (एसडीआर) अन्तर्गतका पाँचवटा विदेशी मुद्रामा लिन्छ। जसमा अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, चिनियाँ युआन र जापानी येन पर्दछन्। चालु आर्थिक वर्षमा एसडीआरको विनिमय दरमा आएको वृद्धिले वैदेशिक ऋण दायित्वमा थप प्रभाव परेको कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। रासस


प्रकाशित : शनिबार, वैशाख ६ २०८२११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend