सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेपालमा उडान गर्ने विदेशी एयरलाइन्सले अनिवार्य 'जीएसए' नियुक्त गर्नुपर्ने

जीएसए नियुक्त नभइ सञ्चालनमा रहेका एयरलाइन्सले एक वर्षभित्र व्यवस्था गर्नुपर्ने

शुक्रबार, वैशाख ५ २०८२
नेपालमा उडान गर्ने विदेशी एयरलाइन्सले अनिवार्य 'जीएसए' नियुक्त गर्नुपर्ने

योसँगै नेपालमै कार्यलय खोलेर सम्पूर्ण व्यवस्था आफै गर्दै आएका एयरलाइन्स कम्पनीले अब जीएसए नियुक्त गर्नुपर्ने भएको छ।

काठमाडौं- सरकारले 'हवाई सेवा व्यवस्थापन नियमावली, २०८१' मार्फत अब बिदेशी एयरलाइन्सले नेपालमा उडान गर्नका लागि जनरल सेल्स एजेण्ट (जीएसए) मार्फत कारोबार गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ।

योसँगै नेपालमै कार्यलय खोलेर सम्पूर्ण व्यवस्था आफै गर्दै आएका एयरलाइन्स कम्पनीले अब जीएसए नियुक्त गर्नुपर्ने भएको छ।

यसअघि जीएसए नियुक्त हुनेगरेता पनि कतिपय एयरलाइन्स कम्पनीहरूले अफलाइन टिकटमार्फत पनि उडान गर्दै आएका थिए भने कतारसहित एयर इन्डियाले भने नेपालमै कार्यालय खोलेर कारोबार गर्दै आएका थिए।

अब भने नियमावलीसँगै सबै नेपालमा उडान गर्ने विदेशी एयरलाइन्सले अनिवार्य रुपमा जीएसए नियुक्त गर्नुपर्ने भएको छ। हाल नेपालमा एक दर्जन विदेशी एयरलाइन्सले दैनिक उडान गर्दै आएका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको नियमावली गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेसँगै कार्यान्वयनमा आएको छ।

पहिलोपटक सरकारले नियमावली जारी गर्दै एयरलाइन्स कम्पनीहरूलाई व्यवस्थित बनाउन लागेको हो। यसअघि नागरिक उड्डयनसँग सम्बन्धित संस्थालाई इजाजत दिनेसम्बन्धी कार्यविधि, २०६६ जारी गरिएको थियो भने २०७७ मा केही संशोधन गरिएको थियो। गैरसैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन, २०१५ को दफा ३ को उपदफा (२) को खण्ड (च) ले दिएको अधिकार प्रयोग गरी नियमावाली ल्याइएको हो।

निययमावलीमा जनरल सेल्स एजेण्ट (जीएसए) मार्फत कारोबार गर्नुपर्ने व्यवस्था गरिएको हो। नेपालमा उडान गर्न चाहने विदेशी वायुसेवा सञ्चालन संस्थाले नेपालबाट गर्ने सम्पूर्ण व्यावसायिक कारोबार प्रचलित कानूनबमोजिम नेपालमा दर्ता भएको जनरल सेल्स एजेण्ट (जीएसए) मार्फत गर्नु पर्ने व्यवस्था गरिएको छ। 

त्यस्तैगरी नेपालमा उडान गर्न चाहने विदेशी वायुसेवा सञ्चालन संस्थाले नियम २० बमोजिम वायुसेवा मनोनयन वा सञ्चालन अनुमतिको लागि मन्त्रालयमा निवेदन दिँदा जीएसएमार्फत आवेदन दिनुपर्ने भएको छ। 

साथै नियमावली जारी हुनुअघि जीएसएबिना उडान सञ्चालन र व्यावसायिक कारोबार गरिरहेका वायुसेवा सञ्चालन संस्थाले यो नियमावली प्रारम्भ भएको मितिले एक वर्षभित्र आफ्नो जीएसए तोकी सोको जानकारी मन्त्रालयमा दिनुपर्ने भएको छ। यस नियमको प्रयोजनको लागि जीएसए भन्नाले विदेशी वायुसेवाले नेपालमा आफ्नो आधिकारिक प्रतिनिधित्व र व्यावसायिक कारोबारका लागि तोकेको प्रतिनिधि हो। 

हवाई सेवा व्यवस्थापन नियमावली कार्यान्वयनमा, एयरलाइन्स कम्पनी सञ्चालनका लागि चुक्ता पुँजीमा ठूलो वृद्धि हवाई सेवा व्यवस्थापन नियमावली कार्यान्वयनमा, एयरलाइन्स कम्पनी सञ्चालनका लागि चुक्ता पुँजीमा ठूलो वृद्धि

 


प्रकाशित : शुक्रबार, वैशाख ५ २०८२१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend