शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

टोखाको सपनतीर्थमा मेला : बिहानदेखि भक्तजनको घुइँचो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १ २०८२
टोखाको सपनतीर्थमा मेला : बिहानदेखि भक्तजनको घुइँचो

प्रत्येक वर्षको बैशाख १ गते लाग्ने सपनतीर्थ मेलामा काठमाडौं उपत्यकाभित्र र उपत्यकाबाहिरका दर्शनार्थीको भीड लागेको छ।

काठमाडौं- काठमाडौंको उत्तरी क्षेत्र टोखामा लाग्ने सपनतीर्थ मेला सुरू भएको छ। टोखा नगरपालिका-२ मा रहेको सपनतीर्थ मन्दिरमा पूजा गर्ने तथा कुण्डमा स्नान गर्ने भक्तजनको आज बिहानदेखि घुइँचो लागेको हो। 

प्रत्येक वर्षको बैशाख १ गते लाग्ने सपनतीर्थ मेलामा काठमाडौं उपत्यकाभित्र र उपत्यकाबाहिरका दर्शनार्थीको भीड लागेको छ।

आज एक दिन मात्र लाग्ने मेलामा बिहानदेखि हजारौँ भक्तजनले मेला भरेको टोखा वडा नं २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले जानकारी दिए। मेला भर्न आएका भक्तजनले मन्दिरमा पूजा गर्ने, स्नान गर्ने, भाकल गर्नेसमेत गरेका छन्।

सपनतीर्थ मन्दिरमा पूजापाठ गर्ने तथा स्नान गर्नाले सन्तान प्राप्त हुने र सम्पत्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ। सपनामा चिताएको हरेक कुरा पूरा हुने भएकाले सो मन्दिरमा दर्शन तथा स्नान गर्ने गरिन्छ।

सपनतीर्थ मेला टोखामा आज एक दिन मात्र लाग्ने भए पनि बैशाख २ देखि ४ गतेसम्म तीन दिन खट जात्रा (सिन्दूर जात्रा) हुनेछ। टोखाको विशेष पर्व उत्सवका रूपमा यो जात्रालाई लिने गरिन्छ।

बाजागाजाको मौलिक धुनमा भ्रातृत्व र सद्भाव र शिष्टताका साथ धुमधामसँग यो पर्व मनाइन्छ। टोखावासीको एकताको प्रतीकका रूपमा यस जात्रालाई लिने गरिन्छ। रासस


प्रकाशित : सोमबार, वैशाख १ २०८२१२:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend