शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

निसीखोलाको पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २७ २०८१
निसीखोलाको पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग

बाइसे चौबिसे राज्यका बेला भूरे राजाले शासन गरेको नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ।

बागलुङ- बागलुङको निसीखोला गाउँपालिका-७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ। बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो। आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रुपमा नरसिंहकोट पुर्‍याउनका लागि पदमार्ग निर्माण गरिएको जनाइएको छ। 

पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत पदमार्ग निर्माण भएको हो। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको १० लाख रुपैयाँ बजेटमा पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका योजना अधिकृत नारायणप्रसाद रिजाले जानकारी दिए। 

उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरिएको हो। ढोरपाटन नगरपालिका-२ सेरादेखि करिब दुई सय ५० पक्की रेलिङसहित पदर्माण सम्पन्न भएको रिजालले बताए। बाइसे चौबिसे राज्यका बेला भूरे राजाले शासन गरेको नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ। 

नरसिंहकोटमा पूर्वधार बन्दै गएपछि आन्तरिक पर्यटक बढ्दै गएको निसीखोला गाउँपालिका-७ अध्यक्ष दीपक कुँवरले बताए। बुर्तिबाङ बजार नजिकै भए पनि नरसिंहकोटमा पुग्न अब सहज भएको उनको भनाइ छ।

पदमार्गसँगै गाउँपालिकाले यस क्षेत्रमा २० लाख रुपैयाँमा कालिका मन्दिर, खानेपानी, शौचालय, विश्रामस्थललगायतका संरचना निर्माण गरेको अध्यक्ष कुँवरले जानकारी दिए।

उनका अनुसार उक्त स्थानमा खेलमैदान निर्माणाधीन अवस्थामा छ। नरसिंहकोटमा पुग्नका लागि बुर्तिबाङ बजारबाट गाडीमा एक घण्टा र पैदल यात्रामा साढे एक घण्टामा पुग्न सकिन्छ। त्यहाँसम्म पुग्ने सडक सालझण्डी-ढोरपाटन सडकबाहेक अर्को वैकल्पिक सडक नहुँदा सवारीसाधनमा जाँदा लामो बाटो पर्ने उनले बताए।

नरसिंहकोटबाट बुर्तिबाङ बजारसहित बागलुङको विभिन्न स्थान, म्याग्दी, प्युठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँचीलगायतका जिल्ला देख्न सकिन्छ भने धौलागिरि हिमाललगायत दर्जनौँ हिमशृङ्खलाहरु र उच्चपहाडी क्षेत्रको सहज रुपमा अवलोकन गर्न सकिन्छ। रासस


प्रकाशित : बुधबार, चैत २७ २०८११०:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend