शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

आर्थिक संकटमा रहेको सौर्य एयरलाइन्स एउटै जहाजको भरमा उडानमा फर्कन खोज्दै, निलम्बित एओसी फुकुवाका लागि राजनीतिक दबाब दिँदै

सेफ्टी अडिटसँगै वित्तीय अडिट पनि गर्ने तयारीमा प्राधिकरण

मंगलबार, चैत २६ २०८१
आर्थिक संकटमा रहेको सौर्य एयरलाइन्स एउटै जहाजको भरमा उडानमा फर्कन खोज्दै, निलम्बित एओसी फुकुवाका लागि राजनीतिक दबाब दिँदै

काठमाडौं- आर्थिक संकटमा रहेको सौर्य एयरलाइन्सले एउटै जहाजको भरमा आन्तरिक उडानमा फर्कन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई राजनीतिक दबाब दिन थालेको छ। 

सौर्य एयरलाइन्स विगत ९ महिनादेखि ग्राउन्डेड छ।  गएको साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेकअपको समयमा सौर्यको जहाज दुर्घटना भएको थियो। जहाज दुर्घटनामा एयरलाइन्सका कर्मचारी तथा कर्मचारीको परिवारको सदस्यले ज्यान गुमाएका थिए। दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए।

जहाज काठमाडौंबाट पोखरा सी-चेकका लागि जाँदै थियो। जहाज दुर्घटनासँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सलाई ग्राउन्डेड गरेको थियो। ग्राउन्डेड भएसँगै प्राधिकरणले सौर्य एयरको एओसी निलम्बन गरेको थियो। 

सौर्यसँग अहिले उडानयोग्य जहाज एउटामात्रै छ। एयरलाइन्सले दुईवटा जहाज रहेको जनाए पनि एउटा जहाज उडानयोग्य छैन। एउटा जहाजका सबै पार्टपुर्जा पहिले नै झिकिएको छ।

आर्थिक रुपमा संकट भोगिरहेको बेलामा नै एयरलाइन्सको जहाज दुर्घटना भएको थियो। अहिले पनि सौर्य एयरलाइन्स आर्थिक रुपमा नै संकटमा छ। जहाज दुर्घटना हुनुभन्दा एक वर्ष अगाडि नै एटीआर जहाज भित्र्याउने बताएको एयरले जहाज भने भित्र्याएको छैन। जेट जहाज उडानको खर्च बढी भएको भन्दै सौर्यले एटीआर जहाजमा जाने भन्दै २०८० को भदौ/असोजमा सी-चेक गर्नुपर्ने जहाज समयमा सी-चेक गरेको थिएन।

अन्तत: एटीआर जहाज ल्याउन नसकेपछि २०८० को अन्त्यतिर एउटा जहाज पोखरा लगरेर सी-चेक गरेको थियो भने अर्को सी-चेककै लागि पोखरा लैजाने क्रममा दुर्घटना भएको थियो।

फेरि अहिले सौर्यले 'राजनीतिक शक्ति' लगाउँदै एउटै जहाजको भरमा उडानमा फर्कन कोसिस गरेको छ। प्राधिकरण स्रोतका अनुसार एयरलाइन्सले निलम्बनमा रहेको एओसी ब्युँताउन निवदेन दिएको छ। 

एउटै जहाजकै भरमा उडानमा फर्कन दिनु भनेको यात्रुलाई अन्याय हुने भन्दै प्राधिकरणकै कर्मचारीबाट एओसी जारी नगर्न आवाज उठिरहेको छ। तर एयरलाइन्सका मालिक दीपक पोखरेलले भने राजनीतिक दबाबमा काम गर्न खोजिरहेका छन्। एयरलाइन्सका प्रतिनिधिले पहिले एओसी निलम्बन फुकुवा गरिदिएको अवस्थामा अर्को जहाज ल्याउन सहज हुने तर्क गरिरहेका छन्।

प्राधिकरण स्रोतका अनुसार सौर्यले निलम्बित एओसी फुकुवाका लागि भन्दै दिएको निवेदनउपर कुनै काम अगाडि बढेको छैन। प्राधिकरणका कर्मचारी पनि प्रक्रिया अगाडि बढाउन सहमत छैनन्।
 
प्राधिकरण स्रोतका अनुसार एओसी निलम्बन फुकुवाका लागि सुरक्षा अटिडसँगै एयरलाइन्सको वित्तीय अटिड समेत गर्नुपर्ने आवाज उठेको छ। प्राधिकरणले पनि सौर्य एयरलाइन्सको वित्तीय अटिड गरेर मात्रै निलम्बित एओसी फुकुवा गर्ने प्रक्रिया थालनी गर्ने तयारी गरेको छ।


प्रकाशित : मंगलबार, चैत २६ २०८१०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend