सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

शनिबार भरतपुरको उडान रद्द हुनु बाध्यात्मक परिस्थिति : बुद्ध एयर

आइतबार, चैत २४ २०८१
शनिबार भरतपुरको उडान रद्द हुनु बाध्यात्मक परिस्थिति : बुद्ध एयर

बुद्ध एयरसँग दुईवटा एटीआर ४२ जहाज मात्र रहेको छ। ती दुई जहाजबाट मात्र भरतपुरको उडान हुने गरेको छ।

काठमाडौं- काठमाडौंबाट भरतपुर र भरतपुरबाट काठमाडौंको शनिबारको उडान प्रतिकूल मौसम र प्राविधिक समस्याका कारण रद्द गर्नुपरेको बुद्ध एयरले स्पष्ट पारेको छ। सामाजिक सञ्जालमा उडान रद्द भएकाबारे नकारात्मक भ्रम फैलाइएकाप्रति ध्यानाकर्षण जनाउँदै बुद्ध एयरले कारण स्पष्ट पारेको हो।

'हिजो काठमाडौं विमानस्थल ढिलो तथा आईएफआरका कारण उडानहरु क्रमशः ढिला हुन गएको थियो', बुद्ध एयरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'भरतपुरको पहिलो उडान बिहान ७:२० बजे तथा दोस्रो उडान ८:४० मा रहेको थियो। भरतपुर विमानस्थल खराब मौसमका कारण १० बजेपछि मात्र सञ्चालनमा आएको थियो। जहाजमा प्राविधिक समस्या देखिएको र मर्मतसम्भारपछि यात्रुहरुलाई पुनः बोर्डिङ गराइएको थियो।'

बुद्ध एयरका अनुसार पहिलो उडान ११:३८ मा भएको तथा दोस्रो उडानको बोर्डिङ सकिएपछि काठमाडौं विमानस्थलमा ‘नोटाम’ जारी भएको थियो। नोटाम सकिएलगत्तै भरतपुर विमानस्थल पुनः बन्द भयो। विमानस्थल खुल्ने निश्चित नहुँदा दिउँसो २ बजे बाध्य भएर उडान रद्द गरिएको थियो। दिउँसो ३ बजे भरतपुर विमानस्थल पुनः खुल्दा त्यसअघिका केही यात्रु उडान नम्बर ३५७ बाट गन्तव्यतर्फ उडेका थिए।

भरतपुर विमानस्थल भीएफआर रहेको हुँदा त्यहाँ कम भिजिबिलिटीले उडानहरु प्रभावित बनाउने कम्पनीको भनाइ छ। 'आज पनि भरतपुर विमानस्थल दिउँसो १ बजेपछि मात्र सञ्चालनमा आएको छ। बुद्ध एयरले बिहानको २ उडान आज पनि रद्द गरेको छ', विज्ञप्तिमा उल्लेख छ।

बुद्ध एयरसँग दुईवटा एटीआर ४२ जहाज मात्र रहेको छ। ती दुई जहाजबाट मात्र भरतपुरको उडान हुने गरेको छ।

बुद्ध एयरसँग रहेको अर्को एटीआर-७२ विमानबाट भरतपुर उडान भर्नका लागि आवश्यक सबै तयारी पुरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणमा महिनौँअघि नै निवेदन दर्ता गराइसकेको छ। सम्बन्धित निकायको अनुमतिपश्चात परीक्षण उडान गरी चाँडै नै एटीआर-७२ विमानबाट भरतपुर उडान सञ्चालन गर्ने बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरसँग १६ वटा एटीआर-७२ रहेको र यस विमानबाट उडान सुचारु भएपछि यस किसिमका समस्या स्वतः समाधान हुने पनि कम्पनीले जनाएको छ।


प्रकाशित : आइतबार, चैत २४ २०८११८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend