सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेशनल जिओग्राफीको बोइङ ७५७ जहाज चार्टर गरेर विश्वका दर्जन देशको भ्रमणमा निस्किएका ७७ महँगा पर्यटक नेपालमा

आइतबार, चैत २४ २०८१
नेशनल जिओग्राफीको बोइङ ७५७ जहाज चार्टर गरेर विश्वका दर्जन देशको भ्रमणमा निस्किएका ७७ महँगा पर्यटक नेपालमा

यति होलिडेजले व्यवस्थापन गरेको उक्त प्याकेजमा पर्यटकले प्रतिदिन ५ सय डलर हाराहारी खर्च समेत गरेका छन्।

काठमाडौं- विश्वका धनाढ्य पर्यटकलाई विशेष प्याकेज बिक्री गरी विश्व भ्रमण गराउँदै आएको नेशनल जिओग्राफीको बोइङ ७५७ जहाज चार्टर गरेर विश्वका दर्जन देशको भ्रमणमा निस्किएका ७७ महँगा पर्यटक नेपाल भ्रमणका लागि आइपुगेका छन्।

यति होलिडेजले व्यवस्थापन गरेको उक्त प्याकेजमा पर्यटकले प्रतिदिन ५ सय डलर हाराहारी खर्च समेत गरेका छन्।

यति होलिडेजका कार्यकारी निर्देशक हेमन्तराज कोलक्षपतिले कामकाजी जीवनबाट रिटायर्ड भएका अधिकांश ७० वर्षभन्दा माथिका पर्यटकहरु भ्रमणमा आएको जानकारी दिए। १९५ सिट क्षमताको जहाजमा सबै बिजनेश क्लास बनाएर ७७ जनामात्रै जहाजमा राखेर ल्याइएको उनले बताए। उनीहरुलाई नेपालको पशुपति क्षेत्र, भक्तपुर, बौद्धलगायत पर्यटकीय गन्तव्यमा भ्रमण गराइएको कोलक्षपतिले जानकारी दिए। 

विश्वका दर्जन देशका हेरिटेज साइटको भ्रमणमा निस्किएका उनीहरु अप्रिल ४ मा नेपाल आइपुगेका हुन्। ७ अप्रिल अर्थात सोमबार उनीहरु फर्कँदैछन्। पर्यटकहरुले उक्त प्याकेज २८ मार्चदेखि अप्रिल २१ सम्मका लागि खरिद गरेका हुन्।

दक्षिण एसियाली मुलुकमध्ये उनीहरुले भ्रमणका लागि नेपाल, भारत र भुटानका केही गन्तव्य रोजेका छन्। उनीहरु ४ अप्रिलमा विमानस्थल ल्यान्ड भएको र अप्रिल ७ मा फर्कनेगरी जहाजको अनुमति लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

काठमाडौंको द्वारिका होटलमा उनीहरु बसेका छन्। यहीबीचमा भुटानसमेत गएर फर्किएका छन्। नेपालमा भने उनीहरुले काठमाडौंसहित उपत्यकाका प्राचीन सहर भक्तपुरका मन्दिरहरू र दरबारहरू भ्रमण गरेका छन्।

नेपालको पर्यटन क्षेत्रमा यस्तै खर्च गर्नसक्ने पर्यटकहरुको महत्व ज्यादा हुने भएकाले यसतर्फ सबै निकायले ध्यान दिनुपर्ने कोलक्षपति बताउँछन्।

नेशनल जिओग्राफीले महँगा प्याकेजमा घुम्न चाहनेहरुलाई प्याकेज बिक्री गरेर घुमाउँदै आएको र नेपालमा पनि आउनु सकारात्मक भएको नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) दिपकराज जोशीले बताए। नेपालमा धनाढ्यहरु कहिलेकाहीँ मात्रै घुम्न आउने र यो पटक जहाज चार्टर गरेर नेपालका प्राचीन सहरको भ्रमण गर्नु नेपालको पर्यटनका लागि सकारात्मक भएको सीईओ जोशी बताउँछन्।

बोइङ ७५७ को निजी चार्टरमा के-के हुन्छ सुविधा?

  • पाहुनाहरूका लागि अनुकूलित २x२ कन्फिगरेसनमा सिटहरू
  • समायोज्य खुट्टा र हेडरेस्टहरू सहितको आरामदायी भीआईपी शैलीको छालाको सिट, साथै ४५-डिग्री रिक्लाइन
  • प्रशस्त ठूला कोठा र व्यक्तिगत वस्तुहरूको लागि सुविधाजनक भण्डारण भएको फराकिलो केबिन
  • आकर्षक, चिल्लो भित्री डिजाइन
  • जहाजमा ३ पाइलटहरू, एक जेट शेफ, एक खानपान अधिकारी, धेरै उडान परिचारिकाहरू, एक इन्जिनियर र एक सामान ह्यान्डलर समावेश रहेका छन्।
  • एक चिकित्सक, जो जेटमा र भ्रमणमा समूहसँगै जान्छन्
  • सिटमा पावर आउटलेटहरू र ल्यापटप, डिजिटल क्यामेरा र अन्य व्यक्तिगत उपकरणहरूको लागि भण्डारण ठाउँसमेत राखिएको छ।


प्रकाशित : आइतबार, चैत २४ २०८११२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend