सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

उपत्यकामा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २० २०७८
उपत्यकामा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने दुईलाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट मोटरसाइकलसहित दुईलाई बिहीबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर घर भई हाल चावहिल बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–१८ का समिर तामाङ रहेका छन्। महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले वास्तविक नम्बरप्लेट परिवर्तन गरेर नयाँ नम्बर प्लेट हालेर सञ्चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए।

उनका अनुसार गोकर्णेश्वरबाट नियन्त्रणमा लिइएको तामाङको साथबाट वास्तविक नम्बर परिवर्तन गरेर बागमती प्रदेश–०२–०२५ प १३१८ नम्बर हालेको अवस्थामा बरामद गरिएको हो। अनुसन्धानपश्चात उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश–०२–०२९ प ५२०९ भएको खुल्न आएको महाशाखाले जनाएको छ।

ललितपुरको सानेपाबाट बा ९८ प ७९६१ नम्बरको सेतो रङको डुक मोटरसाइकल बरामद गरेको छ। उक्त मोटरसाइकलको वास्तविक नम्बर बा ९९ प ४८८२ भएको महाशाखाले जनाएको छ। पक्राउ परेका दुवैलाई चोरी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त क्रमशः ठिमी र सिंहदरबार पठाइएको महाशाखा प्रमुख जोशीले बताए। रासस 


प्रकाशित : बिहीबार , माघ २० २०७८१३:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend