सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

‘स्काई वाक टावर’ले लयमा फर्कँदै भेडेटारका होटलहरू

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ४ २०८१
‘स्काई वाक टावर’ले लयमा फर्कँदै भेडेटारका होटलहरू

कोशी प्रदेश लगानी बोर्ड र वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्रयाक्सन्स प्रालिको २० करोड रुपैयाँ लगानीमा स्काई वाक निर्माण भएको हो।

धनकुटा- गत साउनबाट यहाँको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायलाई राहत प्रदान गरेको छ। 

कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटल व्यवसाय टावर सञ्चालनमा आएसँगै सुधारोन्मूख रहेको व्यवसायीहरूको भनाइ छ।

'कोरोना अघिको जस्तो व्यापार छैन तर टावर बनेपछि कोरोनाकालमा भन्दा राम्रो भइरहेको छ', होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठले भने। विगत १८ वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका श्रेष्ठले भेडेटारको होटल व्यवसायमा देखिएको सुस्तता विस्तारै हटेर जाने विश्वास व्यक्त गरे।

त्यसैगरी होटल लावती कर्नरका सञ्चालक लीलाराज लावतीले पनि कोरोना महामारीको समयदेखि थलिएको यहाँका होटलहरूको  व्यापार स्काई टावर सञ्चालनमा आएपछि सुधारोन्मूख रहेको बताए। यस क्षेत्रका पर्यटकीय स्थलहरूको प्रचार तथा प्रवर्द्धन गर्न सकेमा भेडेटारको पहिलेको व्यापारिक साख फर्कने आशा रहेको उनी बताउँछन्।

होटल एशोसियसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले स्काई वाक सञ्चालनमा आएर यहाँको व्यवसायमा सुधार भएपनि टावरको प्रवेश शुल्क केही महङ्गो भएकाले सोचे जस्तो पर्यटकहरू आकर्षित नभएको गुनासो गरे। 

हाल भेडेटारमा पर्यटकलक्षित एक सय भन्दा बढी सुविधा सम्पन्न र करिब दुई सय बढी साना होटलहरू सञ्चालनमा छन्।

साँगुरीगढी गाउँपालिका धनकुटा र आंशिक रुपमा धरान उपमहानगरपालिकाको सिमानामा निर्मित यस स्काई वाकले भेडेटारको पर्यटन तथा व्यापारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए।

कोशी प्रदेश लगानी बोर्ड र वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्रयाक्सन्स प्रालिको २० करोड रुपैयाँ लगानीमा स्काई वाक निर्माण भएको हो।

गत साउन १ गतेदेखि सञ्चालनमा आएको स्काई वाक टावर फागुन सम्ममा एक लाख ५० हजार बढी पर्यटकहरूले अवलोकन गरेको सञ्चालक कम्पनीका प्रबन्ध निर्देशक सन्जिव रोकायाले जानकारी दिए। उक्त अवधिमा स्काई वाक टावरबाट पाँच करोड रुपैयाँभन्दा बढी कारोबार भएको उनले बताए। रासस


प्रकाशित : सोमबार, चैत ४ २०८११०:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend