सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेपालमा हेलिकोप्टर उडान गरिरहेका स्पेनका पाइलट भन्छन् - नेपाली वायुसेवालाई कालोसूचीमा राख्ने निर्यणमा ईयूले पुनर्विचार गर्नुपर्छ

बिहीबार , फागुन २९ २०८१
नेपालमा हेलिकोप्टर उडान गरिरहेका स्पेनका पाइलट भन्छन् - नेपाली वायुसेवालाई कालोसूचीमा राख्ने निर्यणमा ईयूले पुनर्विचार गर्नुपर्छ

पाइलटलाई प्राधिकरणले 'तिम्रो देशसमेत सम्मिलित ईयूले नेपाली वायुसेवा कम्पनीहरुलाई सुरक्षा चासो लिस्ट (कालोसूची)मा राखेको छ भने तिमीलाई किन नेपाली वायुसेवा कम्पनीको वायुयान उडानमा अनुमति दिने?' भनेर प्रश्न गरेको थियो।

काठमाडौं- नेपाली उड्डयनलाई कालोसूचीमा राखेको युरोपियन युनियनको पाइलट लाइसेन्स भएका पाइलटमाथि पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले 'टार्गेट' गरेको छ। नेपाललाई कालोसूचीमा राख्ने तर आफैले लाइसेन्स दिएको पाइलटलाई नेपालमा उडान गर्न दिएको भन्दै प्राधिकरणले एक युरोपियन पाइलटलाई नेपालमा उडान गर्न रोक लगाएको थियो। 

हेलि एभरेष्टको हेलिकोप्टर उडाइरहेका स्पेनका पाइलट जेभिएर गोन्जालेज काम्पोसलाई उडानमा रोक लगाउँदै प्राधिकरणले स्पष्टीकरण सोधेको थियो। स्पेनिस पाइलट जेभियरले उडानलाई निरन्तरता दिनका लागि आफ्नो लाइसेन्सको बैधता राख्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवदेन दिएका छन्।

पाइलटलाई प्राधिकरणले 'तिम्रो देशसमेत सम्मिलित ईयूले नेपाली वायुसेवा कम्पनीहरूलाई सुरक्षा चासो लिस्ट (कालोसूची)मा राखेको छ भने तिमीलाई किन नेपाली वायुसेवा कम्पनीको वायुयान उडानमा अनुमति दिने?' भनेर प्रश्न गरेको थियो।

प्राधिकरणले गरेको प्रश्नमा पाइलटले ईयूले नेपाललाई कालोसूचीमा राख्ने गरी गरेको निर्णय वस्तुपरक नभएको जवाफ दिएका छन्।

उनले निर्णय उचित र प्रमाणित तथ्य र तथ्यांकमा आधारित नभएको हुँदा हवाई सुरक्षा सूचीबाट हटाउन पुनर्विचार गर्नुपर्ने बताउँदै पत्र लेखेका छन्। पाइलटले नेपाली वायुसेवा कम्पनीका वायुयानहरूलाई ईयूको हवाई क्षेत्रमा सञ्चालन गर्न अनुमति दिन्नुपर्ने बताएका छन्।

पाइलटले प्राधिकरणलाई लेखेको अंग्रेजी पत्रको नेपाली अनुवाद यस्तो छ -

नेपाली विमानलाई युरोपियन युनियन (ईयु) को एयर सेफ्टी लिस्टमा समावेश गरिएको निर्णयप्रति मेरो गम्भीर असहमति छ। ईयुको निर्णय अन्यायपूर्ण त छ नै यो निर्णय पछाडिको मूल्यांकन पनि निष्पक्ष छानबिनमा आधारित छैन। 

नेपाली उड्डयन क्षेत्रले पछिल्ला समय सुरक्षा मापदण्ड सुधारमा महत्वपूर्ण प्रगति गरेको छ। सरोकारवाला निकायले हवाई सुरक्षा मापदण्ड पालना गर्न र गराउन निरन्तर रुपमा मेहनत गरिरहेका छन्। भौगोलिक र प्राविधिक जटिलता भएतापनि क्यान र वायुसेवा कम्पनीले गरेको हवाई सुधारलाई नकार्न मिल्दैन। यसकारण नेपाली आकाशमा संसारभरका धेरै पाइलटले सिकाइको उत्कृष्ट गन्तव्य बनाएका छन्।   

मैले नेपालमा आएर उडान थालेपछि कठिन भौगोलिक अवस्थामा सुरक्षा कसरी प्रत्याभूत गर्नुपर्छ भन्ने कुरा सिकेको छु। यो सिकाइ कुनै पनि तालिम र उडान क्षेत्रमा पाइनेभन्दा विशिष्ट छ। 

यहाँ हामी सुरक्षा प्रक्रियामा हुने पुन: तालिम, मानव कारक कोर्स, नियमावली तथा सुरक्षा व्यवस्थापन प्रणाली कोर्सहरू नियमित रूपमा सञ्चालन पनि गरिरहेका हुन्छौँ, जसले हाम्रो सीपमा निरन्तर सुधार ल्याउन सहयोग गर्छ। 

नेपाली हवाई कम्पनी तथा क्यानले विश्वस्तरीय सुरक्षा मापदण्ड अपनाउन निरन्तर प्रयास गरिरहेका छन्। उनीहरूको प्रयास अन्य देशका उड्डयन निकायहरूका लागि पनि उदाहरणीय बन्न सक्छ। त्यसैले, युरोपियन युनियनले नेपाल तथा यसको हवाई कम्पनीहरूलाई  'ईयू एयर सेफ्टी लिस्ट' बाट हटाउने निर्णयमा पुनर्विचार गर्नुपर्छ ता कि नेपाली एयरलाइन्सले युरोपको आकाशमा पनि सञ्चालन गर्ने अवसर प्राप्त गर्न सकुन्।


प्रकाशित : बिहीबार , फागुन २९ २०८११३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend