सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

शनिबार एकैदिन सुर्खेत र धनगढी विमानस्थलमा यती एयरलाइन्सको परीक्षण उडान सम्पन्न

शनिबार, फागुन २४ २०८१
शनिबार एकैदिन सुर्खेत र धनगढी विमानस्थलमा यती एयरलाइन्सको परीक्षण उडान सम्पन्न

यतीले उक्त विमानस्थलहरुमा निकट भविष्यमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानको रुपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरेको हो।

काठमाडौं- नेपालको अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले शनिबार एकैदिन सुर्खेत र धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरेको छ।

यती एयरलाइन्सको नाइन एन-एएमएन एटीआर ७२ विमानले कर्णाली प्रदेशको सुर्खेत विमानस्थल र सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

प्रवक्ता बर्तौलाका अनुसार नेपालगञ्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा आज दिउँसो १२:१७ मा अवतरण गरेको थियो भने नेपालगञ्जबाटै उडेको सोही विमान दिउँसो २:४५ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो।

परीक्षण उडानलाई एयरलाइन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले सम्पन्न गरेका थिए। उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एयरलाइन्सका प्राविधिक तथ प्रतिनिधिहरुको टोली साथमा गएका थिए।

गत २० गते मंगलबार यती एयरलाइन्सले राजविराज विमानस्थलमा पनि सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिसकेको छ। यतीले उक्त विमानस्थलहरुमा निकट भविष्यमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानको रुपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरेको हो। हाल यी विमानस्थलहरुमा यतीले उडान गर्ने गरेको छैन, परीक्षण उडानको रिपोर्टको आधारमा आगामी दिनमा नियमित उडान गर्ने तयारी गरेको छ। 

यात्रुहरुको मागलाई ध्यानमा राखी उडानको दायरा बढाउँदै आफ्नो बजार हिस्सा विस्तार गर्ने उद्देश्य लिएको यती एयरलाइन्सका एकाउन्टेवल म्यानेजर तथा प्रमुख व्यापार अधिकृत युवराज कुमार विष्टले जानकारी दिए। उनले यी विमानस्थलहरुमा हुने नियमित उडानसँगै यती एयरलाइन्सप्रतिको यात्रुहरुको विश्वास तथा माया अझ बढ्ने धारणा व्यक्त गरे।

यती एयरलाइन्समा एसियन लाइफ इन्स्योरेन्सको प्रवेशसँगै आक्रामक बजार नीति लिएको, यात्रु सुविधाप्रति ध्यान दिएको र उडान सुरक्षाप्रति जिम्मेवारीपूर्वक अघि बढेका कारण यात्रुहरुको विश्वास बढेको छ भने एयरलाइन्स पुरानै लयमा फर्किसकेको कम्पनीको भनाइ छ।

यतीमा हाल यात्रुहरुको अकुपेन्सी दर ८५/९० प्रतिशतसम्म रहेको छ। यती एयरले ७ वटा एटीआर ७२ विमानमार्फत नियमितरुपमा काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज विमानस्थल लगायत पर्वतीय उडानहरु गर्दै आएको छ। निकट भविष्यमा थप विमानमार्फत सेवा विस्तार गर्ने नीति लिइएको कम्पनीले जनाएको छ।


प्रकाशित : शनिबार, फागुन २४ २०८११६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend