सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

खल्ती र फोनपेबीच सहकार्यको सम्झौता, खल्ती प्रयोगकर्ताले फोनपे क्यूआरमार्फत भुक्तानी गर्न सक्ने

सोमबार, माघ १७ २०७८
खल्ती र फोनपेबीच सहकार्यको सम्झौता, खल्ती प्रयोगकर्ताले फोनपे क्यूआरमार्फत भुक्तानी गर्न सक्ने

काठमाडौं- मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्ती बीच उक्त सम्झौता भएको हो।

सम्झौता पत्रमा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले हस्ताक्षर गरे। सम्झौता भएसँगै खल्ती फोनपेको नेटवर्कमा आवद्ध भएको छ। अब खल्तीका सबै प्रयोगकर्ताहरुले फोनपेको क्यूआर मार्फत सेवा प्रयोग गर्न सक्नेछन्।

सम्झौता कार्यक्रममा बोल्दै फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले यस प्रकारको सम्झौताले डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका रहने बताए। सापकोटाले खल्तीसँगको सम्झौताले नेपाली समाजलाई क्यास लेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत सीईओ बिनय खड्काले यो एक सम्झौतामात्र नभएर डिजिटल नेपाल बनाउने सहकार्य भएको बताए। उनले फोन पेसँगको यो सहकार्य नयाँ यात्राको शुरुवात भएकाले फोन पेसँगको सहकार्यले खल्तीका लाखौं ग्राहक लाभान्वित हुने बताए। खड्काले फोन पेसँगको सम्झौता पछि खल्तीका २० लाख ग्राहकहरुले फोनपेको क्युआर मार्फत भुक्तानी गर्न पाउने बताए।

खल्तीका ग्राहकले फोन पेसँगको सम्झौतासँगै फोन पेको जुन ठाउँमा क्यूआर पेमेन्ट सेवा उपलब्ध छ, त्यहाँ खल्ती वालेटबाट पेमेन्ट गर्न सकिने भएको छ। यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धी हुने अपेक्षा दुबै कम्पनीले गरेका छन्।

दुई वर्षअघि स्थापना भएको फोन पेमा अहिले ५ लाख ५० हजारभन्दा बढी मर्चेन्ट सहभागी रहेका छन्। त्यस्तै, बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाइल बैंकिङ प्रयोगकर्ताले फोन पे प्रयोग गर्दै आएका छन्।

त्यस्तै फोन पेमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन्। त्यस्तै, सन् २०१७ मा स्थापना भएर सेवा शुरु गरेको खल्तीको पनि  २० लाखभन्दा बढी प्रयोगकर्ता रहेको खल्तीले जनाएको छ। खल्ती प्रयोगकर्ताहरुले विभिन्न किराना पसल, होटल, रेष्टुरेन्ट, फिल्म हल, सार्वजनिक यातायात, धार्मिक क्षेत्रलगायत अन्य व्यापारिक क्षेत्रमा निकै लोकप्रिय बनेको फोन पेको क्यूआर कोडबाट भुक्तानी गर्ने अवस्था थिएन। खल्तीमा विभिन्न खुद्रा पेमेन्ट तथा अनलाइन पेमेन्टहरु हुँदै आएको थियो। 


प्रकाशित : सोमबार, माघ १७ २०७८१३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend