सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

चीनले किन रोकिरहेको छ नेपाल एयरलाइन्सको न्यारोबडी जहाज?

बिहीबार , फागुन १५ २०८१
चीनले किन रोकिरहेको छ नेपाल एयरलाइन्सको न्यारोबडी जहाज?

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सी-चेकका लागि गएको 'नाइन एन एकेडब्लू' जहाज एक सातादेखि चीनमा रोकिएको छ।

सी-चेक सम्पन्न भसँगै चाइना साउर्थनले जहाज नेपाल एयरलाइन्सलाई हस्तारन्तरण गरेको थियो। जहाज लिन चालक दलका सदस्य यही फेब्रुअरी १८ तारिखमै चीनको सांघाई विमानस्थल पुगेका थिए। जहाज १९ तारिखमा नेपाल आउने तालिका थियो। तर जहाज नेपाल आउन सकेन। कारण थियो, जहाजको स्टार्ट बटनले काम गरेन।

त्यसपछि जहाजमा आएको समस्याबारे सी-चेकको काम गरिएको कम्पनीलाई नै जानकारी गराइयो। जहाजको एउटा पार्ट फेरि परिवर्तन गर्नुपर्ने जानकारी कम्पनीले गरायो। पार्ट्सको लागत १ लाख डलर पर्ने जानकारी भयो। तर निगमले कम्पनीले भनेअनुसार रकम तिर्न सहमति दिएन। जहाज दुई दिनसम्म फेरि रोकियो।

अन्तत: निगमले 'आधा रकम अहिले पठाउँछौँ बाँकी रकम पूरा बिल आएपछि तिर्छौँ' भनेपछि जहाज फेरि मर्मत भयो। मर्मतपछि नेपाल आउन लागेको जहाजलाई अहिले विमानस्थल भन्सारले रोकेको छ।

प्रकिया पूरा नगरेको तथा विमानस्थलले लगाएको जरिवाना भुक्तानी नगरेको भन्दै जहाज चीनमा नै रोकिएको छ। गएको मंगलबार बेलुका जहाज आउने अन्तिम तयारी भए पनि जहाज ल्याउन सकिएन। जहाज अहिले पनि सांघाई विमानस्थलमै रोकिएको छ।

यो जहाज फेब्रुअरी २ तारिखमा सी-चेकका लागि सांघाई पठाइएको थियो। तर जहाज ८ तारिखसम्म विमानस्थलमै रोकियो। सुरक्षामा गम्भीर खेलबाड गर्दै कानूनी प्रक्रिया पूरा नगरी जहाज ल्याएको भन्दै विमानस्थलले मर्मतका लागि कारखानामा लैजान जहाज रोकेको थियो।

८ तारिखका मात्रै विमानस्थलले जहाज लैजान दियो। तर जरिवाना ४० हजार डलर लगाएको थियो। उक्त रकम नेपाल एयरलाइन्सले तिर्दा विरोध हुने र भुक्तानीमा सहजता नदेखेपछि निगम कार्यकारी अध्यक्ष युवराज अधिकारले सी-चेकको काम गरिरहेको कम्पनीलाई नै बिल रकम बढाउन आग्रह गरेको स्रोतको दाबी छ।

स्रोतका अनुसार मर्मतका क्रममा राखिएको पार्टपुर्जाको मूल्य बढाएर बिलमा ४० हजार डलर थप गर्न आग्रह गरियो। थप गरिएको उक्त जरिवानाबापत विमानस्थललाई तिर्न चिनियाँ कम्पनीलाई भनियो।

सुरुमा त चिनियाँ कम्पनीले त्यसरी रकम बढाएर काम गर्न अस्वीकार गरेको थियो। तर अन्तत: जहाज मर्मतको रकमसमेत रोकिने अवस्था आएपछि सोहीअनुसार सहमति भएको थियो।

तर सबै काम सकिएर जहाज नेपाल उड्न लाग्दा फेरि जरिवाना भुक्तानीलगायतको विषयलाई लिएर विमानस्थल भन्सारले रोकेको निगम स्रोतको दाबी छ। यो जहाज गएको माघ ४ गतेदेखि उडानमा छैन।


प्रकाशित : बिहीबार , फागुन १५ २०८१११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend