सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

एउटा न्यारोबडी दमाममा ग्राउन्डेड, अर्को मर्मतको भुक्तानी नहुँदा चीनमै रोकियो

आइतबार, फागुन ११ २०८१
एउटा न्यारोबडी दमाममा ग्राउन्डेड, अर्को मर्मतको भुक्तानी नहुँदा चीनमै रोकियो

निगम स्रोतका अनुसार कम्पनीले मर्मतको रकम नपाउँदा जहाज चीनमा नै रोकिएको हो। जसका कारण निगमको उडान अस्तव्यस्त भएको छ।

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दुईवटै न्यारोबडी जहाजको उडान ठप्प भएको छ। एउटा न्यारोबडी साउदी अरेबियाको दमाममा ग्राउन्डेड भएको छ भने अर्को चीनमा नै रोकिएको छ।

हिजो शनिबार राति दमाम उडेको जहाज अवतरणपछि ग्राउन्डेड भएको छ। जसका कारण दमामबाट नेपाल आउन लागेका यात्रु बिचल्लीमा परेका छन्। कलसाइन 'नाइन एन एकेएक्स' जहाज दमाममा ग्राउन्डेड भएको हो। जहाजको नोज गियरमा समस्या आएको छ। यो जहाजमा यसअघि मलेसियामा नै समस्या देखिएको थियो।

'नाइन एन एकेएक्स' जहाज मलेसियामा एक दिन लगाएर मर्मत गरी काठमाडौं आएको थियो। मलेसियामा नोज गियर उल्टो हाल्दा समस्या आएको थियो। मलेसियाबाट काठमाडौं आएको जहाज शनिबार दमामका लागि उडेको थियो। दमाममा फेरि नोज गियरमै समस्या देखिएपछि जहाज ग्राउन्डेड भएको छ।

कलसाइन 'नाइन एन एकेडब्लू' जहाज भने सी-चेकको काम सम्पन्न भएको ६ दिन हुँदा पनि काठमाडौं फर्कन सकेको छैन। जहाज चाइना साउर्थनको सांघाई कारखानामा मर्मतका लागि गएको थियो।

जनवरी २ मा १० दिनमा जहाजको सी-चेक हुने र नेपाल आउने भन्दै जहाज पठाइएको थियो। तर निगम व्यवस्थापनको लापरबाहीका कारण ८ तारिखसम्म विमानस्थलमा जहाज रोकिएको थियो। जहाज ८ तारिखमा मात्रै कम्पनीले सी-चेकका लागि कारखानामा लगेको थियो। कम्पनीले प्रतिबद्धताअनुसार नै १० दिनमै जहाजको सी-चेकको काम सम्पन्न गरेको थियो।

सी-चेकको काम सम्पन्न भएपछि २१ तारिखमा जहाज नेपाल ल्याउने भन्दै चालक दलका सदस्यहरू चीन पुगेका थिए। तर दुईदिन हुँदासम्म जहाज नेपालका लागि उडेको छैन। 

निगम स्रोतका अनुसार कम्पनीले मर्मतको रकम नपाउँदा जहाज चीनमा नै रोकिएको हो। जसका कारण निगमको उडान अस्तव्यस्त भएको छ। 


प्रकाशित : आइतबार, फागुन ११ २०८११२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend