सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

वाइडबडीको इन्जिन मर्मत र भाडामा लिने प्रक्रियामा ढिलासुस्ती, एकैपटक दुईवटै जहाज हुनसक्छ ग्राउन्डेड

शुक्रबार, फागुन ९ २०८१
वाइडबडीको इन्जिन मर्मत र भाडामा लिने प्रक्रियामा ढिलासुस्ती, एकैपटक दुईवटै जहाज हुनसक्छ ग्राउन्डेड

इन्जिन निर्माता कम्पनीले इन्जिन मर्मतका लागि न्यूनतम ६ महिना अगाडि नै स्लट बुकिङ नभएको अवस्थामा काम नहुने संकेत दिइसकेको छ। यस्‍तो अवस्थामा पनि इन्जिन मर्मत तथा भाडामा लिने प्रक्रिया सुरु गर्न कार्यकारी अध्यक्ष युवराज अधिकारीले ढिलासुस्ती गरिरहेका छन्।

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानमा दुईवटा वाइडबडी जहाज प्रयोग गरिरेहको छ। दुईवटै जहाजको चारवटै इन्जिन मर्मतको समय नजिकिँदै छ। उडान साइकलको अवधिअनुसार इन्जिन मर्मत हुने समय नजिकिएको हो।

निगमको दुईवटै वाइडबडी जहाजको उडान साइकल ४८ सयको हाराहारीमा पुगेको छ। एक ल्यान्डिङ र एक टेकअफ बराबर एक साइकल हुन्छ। तर इन्जिन मर्मत तथा इन्जिन भाडामा लिने प्रक्रियामा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी कुनै चासो दिएका छैनन्।

कार्यकारी अध्यक्ष अधिकारीलाई सम्बन्धित विभागका कर्मचारीले गत अगष्टमा नै जहाजको इन्जिन भाडामा लिन र मर्मतका लागि प्रक्रिया थालनी गर्न सुझाएका थिए। तर अधिकारीले इन्जिन मर्मत तथा व्यवस्थापनका लागि अहिलेसम्म कुनै चासो दिएका छैनन्। अधिकारीको ध्यान इन्जिन मर्मत तथा भाडामा लिँदा कमिसन कसरी धेरैभन्दा धेरै पाउने भन्नेतर्फ मात्र देखिएको निगमकै एक कर्मचारीले बताए।

अब तत्काल नै इन्जिन मर्मत तथा भाडाको प्रक्रिया सुरु नगर्ने हो भने नेपाल एयरलाइन्सका दुईवटै जहाज ग्राउन्डेड हुने अवस्थामा पुग्छ। एक त वाइडवडीको इन्जिन भाडामा पाउनु निकै कठिन हुन्छ। भाडामा पाएको अवस्थामा पनि भाडावापतको रकम महँगो पर्छ। 

इन्जिन व्यवस्थापनमा तत्काल नै काम सुरु नगर्ने हो भने अन्तिम समयमा इन्जिन भाडामा पाउने अवस्था नहुने निगमका एक कर्मचारी बताउँछन्। एक दिनमात्रै एउटा न्यारोबडी जहाज ग्राउन्डेड हुँदा निगमको आम्दानी १ करोड ५० लाख रुपैयाँभन्दा बढीले गुम्छ। यस्तो अवस्थामा कार्यकारी अध्यक्ष अधिकारीले भने कमिसनका लागि एजेन्ट खोजिरहेका छन्। 

सम्बन्धित विभागले इन्जिन निर्मात कम्पनीसँग इन्जिन मर्मत र भाडाको विषयमा जानकारी लिँदै अधिकारीलाई काम थालनी गर्न सुझाएको पनि ६ महिनाभन्दा बढी भइसकेको छ। 

निगमले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेका जहाज २०७५ को असार र साउनमा आएका थिए। कोरोना महामारीका कारण उडान कम हुँदा अहिलेसम्म उडान समय आइपुगेको हो। कोरोना महामारी नभएको भए जहाजको इन्जिन मर्मत गरिसक्नु पर्ने समय हुन्थ्यो। तर कोरोनाका कारण केही अवधि लम्बिएको हो। निगम स्रोतका अनुसार दुईवटै जहाजको चारवटै इन्जिन एकैपटक मर्मत गर्नुपर्ने समय नजिकिएको हो।

वाइडबडी जहाजको इन्जिनको यो पहिलो मर्मत हो। इन्जिन मर्मतमा ३ देखि ४ महिनाको समय लाग्ने छ। यस्तो अवस्थामा जहाज उडान गर्ने हो भने इन्जिन अनिवार्य भाडामा लिनुपर्छ। एउटामात्रै जहाज उडान गर्ने हो भने दुईवटा र दुईवटै जहाज उडान गर्ने भए चारवटै इन्जिन भाडामा लिनु पर्छ। वाइडबडी इन्जिनको भाडा नै औषतमा दैनिक एक हजार डलरसम्म पर्ने निमग स्रोतको दाबी छ।

यस्तोमा कार्यकारी अध्यक्ष अधिकारीले भने सिधै इन्जिन निर्माता कम्पनीलाई इन्जिन मर्मतको जिम्मा दिँदै भाडामा पनि उहीसँग लिने कर्मचारीको प्रस्तावलाई स्वीकार गरेका छैनन्। अधिकारी भने ग्लोबल टेन्डर गर्दा कमिसन लिन पाइने हुँदा टेन्डरका लागि एजेन्टको खोजीमा छन्।

कतैबाट पनि इन्जिन मर्मत तथा भाडामा कमिसन आउने अवस्था नभएपछि कार्यकारी अध्यक्ष अधिकारी प्रक्रियामा ढिलासुस्ती गर्ने खेलमा लागेका छन्। अधिकारीले निगमकै कतिपयसँग त 'मेरो कार्यकाल अब आठ महिनाभन्दा छैन, किन  पछि आउने नेतृत्वलाई सहज हुने गरी मैले काम गर्ने?' भन्न थालेका छन्। उनले सरकारसँग आफ्नो दोस्रो कार्यकालका लागि पनि यही विषय अगाडि सार्दै बार्गेनिङसमेत गर्न थालेको स्रोतको दाबी छ।

इन्जिन मर्मतमा नै प्रतिइन्जिन १ अर्ब ५ करोड रुपैयाँसम्म खर्च हुनेछ। त्यसका लागि आवश्यक वित्तीय व्यवस्थापनमा कुनै काम भएको छैन। चारवटा इन्जिन मर्मतमा नै ६ अर्ब रुपैयाँ हाराहारीमा खर्च हुने अवस्थामा अधिकारीले कुनै चासो दिएका छैनन्।

स्रोतका अनुसार इन्जिन निर्माता कम्पनीले इन्जिन मर्मतका लागि न्यूनतम ६ महिना अगाडि नै स्लट बुकिङ नभएको अवस्थामा काम नहुने संकेत दिइसकेको छ। यस्‍तो अवस्थामा पनि इन्जिन मर्मत तथा भाडामा लिने प्रक्रिया सुरु गर्न कार्यकारी अध्यक्ष अधिकारीले ढिलासुस्ती गरिरहेका छन्। 

निगम कार्यकारी अध्यक्ष अधिकारीको बेथितिमा पर्यटनमन्त्री पाण्डेको अस्वभाविक मौनता निगम कार्यकारी अध्यक्ष अधिकारीको बेथितिमा पर्यटनमन्त्री पाण्डेको अस्वभाविक मौनता

पर्यटनमन्त्रीज्यू, इन्जिन मर्मतको समय कति हो भनेर निगम कार्यकारी अध्यक्षलाई सोध्ने कि टुलुटुलु हेरेर बस्ने? पर्यटनमन्त्रीज्यू, इन्जिन मर्मतको समय कति हो भनेर निगम कार्यकारी अध्यक्षलाई सोध्ने कि टुलुटुलु हेरेर बस्ने?


प्रकाशित : शुक्रबार, फागुन ९ २०८१०७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend