मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा

मंगलबार, फागुन ६ २०८१
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा

गुफाभित्र तीनवटा कोठा छन्। परापूर्वकालमा लामाहरूले खाना पकाउन र ध्यान बस्नका लागि प्रयोग गरेका सामग्रीहरू गुफामा अवलोकन गर्न पाइन्छ।

म्याग्दी- मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ। जोमसोमको प्रवेशद्वारमा रहेको स्याङ खोलाको किनारमा पर्ने कैह्योलोङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा सुनसान बनेको हो।

स्याङखोलाको पुल भएर वार्षिक तीन लाखभन्दा बढी पर्यटक आवतजावत गर्ने मुस्ताङको कैह्योलोङ गुफा पुग्नेको सङ्ख्या नगन्य मात्रामा रहेको स्याङका बासिन्दा देवेन्द्र थकालीले बताए।

'जोमसोमको प्रवेशद्वारमा भए पनि कैह्योलोङ गुफाको महत्व र विशेषताका बारेमा प्रचारप्रसारका साथै यहाँसम्म पुग्ने व्यवस्थित पदमार्ग नहुँदा ओझेलमा परेको हो', उनले भने, 'कैह्योलोङ गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग र पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्नसकेमा मुस्ताङमा आउने पर्यटकको बसाइ लम्ब्याउन सकिने थियो।'

थकाली भाषामा कैह्योलोको अर्थ बिहे नगरेको र ङलाई ओडार भन्ने गरिन्छ। बिहे नगरेका लामा ध्यान र तपस्या बस्ने ठाउँ भएकाले कैह्योलोङ गुफा नामकरण गरिएको थकालीले बताए। 

गुफाभित्र तीनवटा कोठा छन्। परापूर्वकालमा लामाहरूले खाना पकाउन र ध्यान बस्नका लागि प्रयोग गरेका सामग्रीहरू गुफामा अवलोकन गर्न पाइन्छ। स्याङखोलाको किनारमा रहेको पहाडको भित्तामा गुफा रहेको छ। स्याङखोलाको मोटरेबल पुलदेखि १० मिनेट पैदलयात्रा गरेपछि गुफामा पुगिन्छ। 

स्याङका पूर्ववडासचिव किरन सापकोटाले कैह्योलोङ गुफा मानव सभ्यताको विकाससम्बन्धी अध्ययन गर्नेका लागि खोजीको विषय बन्नसक्ने बताए। गुफाको बनोट र अवस्थिति देखेर अनौठो लागेको उनले अनुभव सुनाए। बाहिरबाट पहाडको बीचमा सानो प्वाल देखिए पनि भित्र पस्दा घरमै बसेको जस्तो महसुस हुने सापकोटाले प्रतिक्रिया दिए।

जनकल्याण युवा क्लबले स्याङ खोलाको किनारबाट गुफासम्म पुग्ने करिब २० मिटर रेलिङसहितको पदमार्ग बनाइएको छ। स्याङखोलाको मोटरेबल पुलबाट गुफाको फेदीसम्म करिब पाँच सय मिटर पदमार्ग बनाउन आवश्यक छ। हाल खोलाको किनारै किनार हिडेर गुफामा पुग्नुपर्छ।

घरपझोङ गाउँपालिका-३ का वडा सदस्य वीरप्रसाद थकालीले जोमसोमको पुथाङ विमानस्थल, शिन्तामणि होटल, कैह्योलोङ गुफा, किचिथाङ झोलुङ पुल हुँदै स्याङ गाउँ जोड्ने छोटो दुरीको पदमार्गको परिकल्पना गरिएको  जानकारी दिए। उक्त परिकल्पनाअनुसार गाउँपालिकाले किचिथाङमा एक सय २० मिटर लामो झोलुंगे पुल, स्याङमा मनशान्ती पार्क निर्माण र स्याङखोलामा साउना बाथ सञ्चालन गरिएको उनले बताए। 

जोमसोमबाट शिन्तामणि होटल, किचिथाङको झोलुंगे पुल हुँदै स्याङ जोड्ने छोटो दुरीको पदमार्गले पर्यटकको बसाई लम्ब्याउने र पर्यटकलाई प्रकृतिमा रमाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे। रासस


प्रकाशित : मंगलबार, फागुन ६ २०८१११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend