बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सबल बाह्य क्षेत्रको लाभ लिन असफल सरकार, राजस्व नउठ्दा प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्नुपर्ने अवस्था

शुक्रबार, फागुन २ २०८१
सबल बाह्य क्षेत्रको लाभ लिन असफल सरकार, राजस्व नउठ्दा प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्नुपर्ने अवस्था

संघीय सरकारको बजेटकै कतिपय शीर्षकको खर्चलाई रोक्का राखिएको छ। अपेक्षित राजस्व संकलन नहुँदा विभिन्न सरकारी निकायमा रहेको सञ्चित कोष उधिन्नतिर अर्थ मन्त्रालय अहिले लागिरहेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको छ महिनामै १ अर्ब ५७ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति थपिएको छ। गत आर्थिक वर्षको अन्त्यमा १५ अर्ब २८ करोड डलर सञ्चिति रहेकोमा पुस मसान्तसम्म पुग्दा १६ अर्ब ८४ करोड डलर पुगेको छ। 

नेपालसँग यति धेरै विदेशी मुद्राको सञ्चिति पुगेको पहिलोपटक हो। करिब तीन वर्षअघि विदेशी मुद्राको सञ्चिति खस्किएर संकटमा पुगेको भन्दै आयातमा प्रतिबन्ध लगाएको मुलुकका लागि यसलाई निकै ठूलो सफलता मान्नेहरू पनि उत्तिकै छन्। 

विदेशी मुद्राको सञ्चितिसँगै मुलुकको बाह्य क्षेत्र निकै सुविधाजनक अवस्थामा पुगिसकेको छ। पछिल्लो एक वर्षदेखि बाह्य क्षेत्र अधिक सुविधाजनक अवस्थामा छ। गत आर्थिक वर्षदेखि बह्य क्षेत्रको सुविधा राम्रै बढेर चालु खाता नै बचतमा गइसकेको छ।

रेमिट्यान्समा भएको सुखद वृद्धि तर आयात संकुचित हुँदा चालु खाता तथा शोधनान्तर सुविधाजनक अवस्थामा पुगेका हुन्।

विदेशी विनिमयको सञ्चिति उच्च हुनु भनेको कुनै पनि मुलुकका लागि अमूल्य स्रोत पनि हो। पछिल्लो १८ महिनादेखि बाह्य क्षेत्र सुविधाजनक अवस्थामा पुग्दा पनि आन्तरिक अर्थतन्त्रलाई भने खासै सञ्चो देखिएको छैन। 

हालैमात्र अर्थ मन्त्रालयले न्यून राजस्व संकलन भएको भन्दै प्रदेश तथा स्थानीय तहमा जाने अनुदानमा कटौती गर्ने परिपत्र गरेको छ।

त्यस्तै संघीय सरकारको बजेटकै कतिपय शीर्षकको खर्चलाई रोक्का राखिएको छ। अपेक्षित राजस्व संकलन नहुँदा विभिन्न सरकारी निकायमा रहेको सञ्चित कोष उधिन्नतिर अर्थ मन्त्रालय अहिले लागिरहेको छ। 

Screenshot 2025-02-13 at 18.30.27.png

एकातिर बाह्य क्षेत्र निरन्तर सुविधाजनक अवस्थामा हुने अर्कोतिर अर्थतन्त्र शिथिल हुँदा राजस्व नउठेर सार्वजनिक वित्त खलबलिने अवस्था आएको छ। 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु वर्षको सात महिनामा राजस्व ६ खर्ब ४२ अर्ब संकलन भएको छ। त्यस्तै कुल आम्दानी ६ खर्ब ५९ अर्ब भएको छ। राजस्व र कुल आम्दानी गत वर्षको तुलनामा उच्च भएपनि लक्ष्यअनुरुप भने संकलन हुन सकेको छैन। 

सात महिनामा संघीय सरकारको आम्दानी र खर्चबीचको खाडल खर्ब नाघेको छ। महालेखा नियन्त्रकको तथ्यांकमा कुल संघीय राजस्वको आँकडाअनुसार ९१ अर्बको खाडल देखिएपनि बाँडफाँटपछिको राजस्वको समायोजन गर्दा १ खर्ब ५० अर्बजतिको खाडल सिर्जना भएको छ। 

यो खाडलभन्दा धेरै ऋण लिएकाले सरकारकी ढुकुटीमा खासै समस्या भएको देखिँदैन। तर पुँजीगत शीर्षकको भुक्तानीले तीव्रता पाएमा खाडल अझै फराकिलो हुने निश्चित छ।

राजस्व संकलनमा सुधार नहुनमा मुख्य कारण आन्तरिक माग बढ्न नसक्नुलाई लिइएको छ। त्यस्तै आयात प्रतिबन्धको समयमा मौलाएको चोरीपैठारीको बाटो अझै नियन्त्रण नहुँदा पनि राजस्व संकलन संकुचित भएको कतिपयको भनाइ छ। 

यद्यपि बाह्य क्षेत्र सुविधाजनक अवस्था भएपनि, धेरै सञ्चिति बढेपनि त्यसको लाभ लिन अर्थतन्त्र भने चुकिरहेको छ। अर्थमन्त्री विष्णु पौडेल भने अवस्थामा विस्तारै सुधार देखिँदै आएको र यही आर्थिक वर्षको अन्त्यसम्म बजार लयमा फर्किने विश्वास व्यक्त गर्छन्। 

‘केही समय पहिलेसम्म बजारको आत्मविश्वास नै खस्किएको थियो, त्यस्तोमा खाली बाह्य क्षेत्रको सुधारले मात्र काम गर्दैन थियो तर अहिले आत्मविश्वास फर्किन थालेको छ अब बजार पनि लयमा फर्किन्छ’ उनी भन्छन्। राजस्वमा देखिएको सुधारले अर्थतन्त्र लयमा फर्किन लागेको संकेत गरेको उनको भनाइ छ। 


प्रकाशित : शुक्रबार, फागुन २ २०८११०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend