मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

आर्थिक संकटका कारण दुई वर्षदेखि बन्द गुण एयरलाइन्सको 'एओसी'को म्याद गुज्रिएपछि नवीकरण गर्न निवेदन

एयरलाइन्स पुरानै भएपनि एओसी नयाँ प्रक्रियाबाट लिनुपर्छ : प्राधिकरण

शुक्रबार, फागुन २ २०८१
आर्थिक संकटका कारण दुई वर्षदेखि बन्द गुण एयरलाइन्सको 'एओसी'को म्याद गुज्रिएपछि नवीकरण गर्न निवेदन

गुणसँग भएका दुईवटा बिजक्राफ्ट जहाज अहिले उडानयोग्य बनाउन सम्भव नहुने प्राधिकरणको तर्क छ। तर एयरलाइन्सले भने यही जहाजलाई उडानयोग्य बनाएर नेपाली आकाशमा फर्कने तयारी गरेको छ।

काठमाडौं- आर्थिक संकटका कारण आन्तरिक हवाई सेवाप्रदायक कम्पनी गुण एयरलाइन्सको उडान बन्द भएको दुई वर्ष पूरा भएको छ।

२०७९ फागुन १ गतेदेखि नै उडान बन्द भएपनि पाइलट र कर्मचारीलाई तलब नदिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले फागुन ८ गते गुण एयरलाइन्सको सबै जहाज ग्राउन्डेड गरेको थियो। त्यसयता गुण एयरलाइन्सको उडान पूर्णरुपमा बन्द छ।

प्राधिकरले सबै जहाज ग्राउन्डेड गर्दै एओसी (वायुसेवा सञ्चालन प्रमाणपत्र) निलम्बन गरेको थियो। निलम्बनकै चरणमा एयरलाइन्सको ‌एओसीको म्याद २०२४ फ्रेब्रुअरी ४ मा सकिएको थियो।

हरेक चार/चार वर्षमा नवीकरण गर्नु पर्नेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जारी भएको इजाजतको पनि म्याद सकिएको थियो। अहिले एयरलाइन्सले मन्त्रालयबाट भने इजाजत नवीकरण गराइसकेको छ। २०८४ को बैशाख २ गतेसम्मका लागि नवीकरण गरेको हो।

मन्त्रालयबाट इजाजत नवीकरण गरेसँगै गुण एयरलाइन्सले एओसीका लागि निवेदन दिएको छ। म्याद सकिनु एक महिनाअगाडि नै नवीकरण नभएको अवस्थामा एओसी स्वत: खारेज हुने छ। सोही व्यवस्थाअनुसार गुण एयरलाइन्सको एओसी खारेज भइसकेको छ।

एओसी नवीकरणको म्याद सकिएपछि निवेदन आएका कारण अब नयाँ एयरलाइन्सलाई जसरी एओसी दिइने हो त्यहीअनुसार प्रक्रिया अगाडि बढ्ने प्राधिकरणको भनाइ छ।

एओसीका लागि पाँचवटा चरण पूरा गर्नु पर्छ। अहिले एयरलाइन्स 'प्रि-एप्लिकेसन' को चरणमा रहेको छ। सोहीअनुसार प्राधिकरणले समितिसमेत गठन गरेको छ। समितिले काम भने थालिसकेको छैन।  

डेढ वर्षअगाडि प्राधिकरणले ए‌ओसी खारेज प्रक्रिया थाल्दै सोधेको पत्रको जवाफमा आर्थिक संकटबाट ग्रुजिएको गुण एयरलाइन्सले एटीआर जहाजबाट उडान गर्ने भन्दै जवाफ दिएको थियो। तर अहिले गुणले पुरानै जेटस्ट्रिम र बिजक्राफ्ट जहाजबाट उडान गर्नेगरी एओसी नवीकरण गर्न लागेको हो। गुणको पुरानो एओसीमा पनि बिजक्राफ्ट र जेटस्ट्रिम जहाज नै उल्लेख छ।

एयरलाइन्स स्रोतका अनुसार एओसी पाएपछि तत्काल बिजक्राफ्ट जहाजबाट उडान थाल्ने तयारी छ। तर जेटस्ट्रिम जहाज भने उडानमा नफर्काउने एयरलाइन्सको तयारी छ। गुण एयरलाइन्सले जेटस्ट्रिम जहाज बिक्रीको तयारी गरिरहेको छ। गुणले जहाज बिक्री तथा नयाँ जहाज खरिदका ला‍गि पनि एओसी लिन प्रक्रिया अगाडि बढाएको हो। 

नेपाली हवाई उड्डयन क्षेत्रमा सन् २००९ मा स्थापना भएको गुण एयरलाइन्स सन् २०१३ देखि सिम्रिक एयरलाइन्सको नाममा सञ्चालनमा रहेकोमा २०२१ मार्चदेखि पुरानै नाम गुणमा फर्किएको थियो। गुणले यती एयरसँग ५ वटा जेटस्ट्रिम जहाज खरिद गरेको थियो। पछिल्लो समयमा नेपालको ट्रंक रुटमा साना जहाजको उडान व्यावसायिक रुपमा प्रभावकारी हुन सकेको छैन। किनभने बुद्ध र यतीले ७२ सिट क्षमताका एटीआर र श्रीले ८० सीट क्षमताको टर्वो क्यू ४ जहाज उडान गरिरहेका छन्। 

साना जहाजको खर्च बढी र सीट क्षमता पनि कम हुँदा प्रतिस्पर्धामा आउन सक्ने अवस्था छैन। साना जहाजबाट नै उडान गर्दा गुणले आर्थिक संकट भोग्नु परेको थियो। 

अब नयाँ प्रक्रियाबाट काम गरिने हुँदा थप ६ महिना गुण एयरलाइन्स उडानमा फर्कन सक्ने अवस्था छैन। त्यसमा पनि प्राधिकरणले कुनै पनि हालतमा जेटस्ट्रिम जहाजलाई उडानमा ल्याउन नदिने रणनीति लिएको छ।

गुण एयरलाइन्ससँग पाँचवटा जहाज भएपनि बन्द हुनु अगाडिसम्म दुईवटा मात्रै उडानमा थियो। यस्तोमा अहिले ती जहाजमा प्रयोग भएका सबै पार्टपुर्जाको आयु सकिएको छ। गुणसँग अहिले उडानयोग्य जहाज नै नभएको अवस्थाले पनि उडानमा आउन सहज नरहेको प्राधिकरणको दाबी छ।

गुणसँग भएका दुईवटा बिजक्राफ्ट जहाज अहिले उडानयोग्य बनाउन सम्भव नहुने प्राधिकरणको तर्क छ। तर एयरलाइन्सले भने यही जहाजलाई उडानयोग्य बनाएर नेपाली आकाशमा फर्कने तयारी गरेको छ।


प्रकाशित : शुक्रबार, फागुन २ २०८१०७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend