मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर

बुधबार, माघ ३० २०८१
पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर

समुद्री सतहदेखि तीन हजार ८ सय मिटर उचाईमा रहेको रुघाचौर गुर्जा र ढोरपाटन आवत जावत गर्ने पदमार्गको मुख्य नाका हो।

म्याग्दी- म्याग्दीको धवलागिरी गाउँपालिका-१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ। म्याग्दी, बागलुङ र पुर्वी रुकुममा फैलिएको ढोरपाटन शिकार आरक्षको वार्से ब्लकमा पर्ने रुघाचौर पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको हो।

समुद्री सतहदेखि तीन हजार आठ सय मिटर उचाईमा रहेको रुघाचौर गुर्जा र ढोरपाटन आवत जावत गर्ने पदमार्गको मुख्य नाका हो। यहाँबाट अन्नपूर्ण, गुर्जा, धौलागिरि, सिस्ने, पुथा, चुरेन हिमाल, सुर्योदय र सुर्यास्तको दृष्य अवलोकन गर्न सकिने धवलागिरी गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।

विशाल फाँट रहेको रुघाचौरको खर्कमा बर्खा याममा धवलागिरि गाउँपालिकाको मुना, दर, लुलाङ, लमसुङ र खोरीयाका बासिन्दाले गाईभैँसी र भेडाबाख्राको गोठ लैजान्छन्। अन्य समय रुघाचौर सुनसान हुन्छ। 

'परापूर्वकालमा गोठालाहरुले ढोरपाटन-रुघाचौर-गुर्जा आउजाउ गर्न प्रयोग गरेको बाटो पहिचान गरेर गुर्जादेखि रुघाचौरसम्म पदमार्ग पनि बनाएका छौँ,' उनले भने, 'ढोरपाटन आउने पर्यटकलाई रुघाचौरको बाटो भएर गुर्जा ल्याउन र गुर्जा आउने पर्यटकलाई ढोरपाटन लैजाने योजनाका लागि पूर्वाधार बनाउन प्रदेश र संघीय सरकारको साथ खोजेका छौँ।'

रुघाचौर क्षेत्र दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा)को बासस्थान पनि भएको वडाध्यक्ष छन्त्याललेब बताए। गुर्जादेखि चार घण्टा पैदलयात्रा गरेपछि रुघाचौर पुगिन्छ। रुघाचौरमा होटल र रेष्टुरेन्ट छैन। खानेपानीको अभाव छ। 

गुर्जादेखि रुघाचौर गुर्जाघाट हुँदै ढोरपाटन घुमेर फर्किएका धवलागिरी गाउँपालिका-७ धारापानीका आश्विन खत्रीले रुघाचौर प्राकृतिक सौन्दर्यको खानी भएको बताए। आँखै अगाडि देखिने हिमाल, खर्कहरुमा भेटिने वन्यजन्तु, पक्षीहरु अवलोकन गर्न पाउँदा दंग परेको उनले बताए। रुघाचौरमा अस्थायी भए पनि खानेबस्ने सुविधा र पदमार्गमा चिह्न बनाउनुपर्ने खत्रीले बताए।

रुघाचौरलाई ‘भर्जिन’ गन्तव्य बनाउन सकिने सम्भावना छ। रुघाचौरलाई  ढोरपाटनको सहायक गन्तव्यको रुपमा विकास गर्नुपर्ने वडाध्यक्ष छन्त्यालले बताए। गुर्जाको दोप्ताखोलादेखि रुघाचौरको उकालो खण्डमा १५ लाख रूपैयाँ बजेटबाट तीन किलोमिटर ६ सय मिटर पदमार्ग निर्माण गरिएको पनि उनले बताए।

यो पदमार्ग भएर गुर्जा र ढोरपाटनको गुर्जाघाट एकै दिनमा पुग्न सकिन्छ। हिमाल अवलोकन, झरना, तालतलैया, लालीगुराँसको जंगल, वनपैदावार र वन्यजन्तु यो पदमार्गको आकर्षण हो। रासस


प्रकाशित : बुधबार, माघ ३० २०८११३:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend