मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

मुस्ताङको लुरी गुम्बा ओझेलमा

मंगलबार, माघ २९ २०८१
मुस्ताङको लुरी गुम्बा ओझेलमा

धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार अभावमा ओझेल परेको आठसय वर्ष पुरानो गुफाभित्र रहेको गुम्बा संरक्षणको पनि पर्खाइमा छ।

म्याग्दी- मुस्ताङको लोघेकर-दामोदरकुण्ड गाउँपालिका-४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ।

धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार अभावमा ओझेल परेको आठसय वर्ष पुरानो गुफाभित्र रहेको गुम्बा संरक्षणको पनि पर्खाइमा छ। गुम्बाकी आनी थाक्पा ढोल्करका अनुसार तान्त्रिक बौद्ध धर्मसँग नजिक निङ्मापा सम्प्रदायको लुरीघाङ गुम्बा १२औँ शताब्दीमा बनेको हो।

समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा याराको पूर्वी कुनाको पहराको चेपमा रहेको लुरी गुम्बा अनौठो धार्मिक सम्पदा हो। गोरेटो र सिँढी हुँदै पहाडको बीच भागमा रहेको तीनवटा गुफामा रहेको गुम्बामा पुगिन्छ। आँगनमा पुग्ने बेलामा काठको भर्‍याङ राखिएको छ। गुम्बाको मुख्य भाग, लामाको तपस्यास्थल पहराभित्र छिरेको गुफामा रहेको छ। लुरी गुम्बाको छोर्तेन प्राकृतिक भएको आनी ढोल्करले बताए।

आकर्षक भित्तेचित्र भएको छोर्तेनको वरपर परिक्रमा गर्न मिल्ने सानो भाग पनि छ। यहाँका चित्रहरू पन्ध्रौँ शताब्दीमा बनाइएको हो। पहराको ढुंगालाई नै थामको रूप दिइ बनाइएकाले गुम्बामा भित्तेचित्र, पुस्तक, पुराना थांका र पद्मसम्भवको मूर्ति रहेको छ। भुटानी कन्या विवाह गरेका तत्कालीन ल्होका राजाले आफ्नी पत्नीलाई खुसी पार्न लुरी गुम्बा बनाएको इतिहास छ।

स्थानीयवासीले यसलाई लुरी कावुङ भन्ने गर्छन्। अर्को किंवदन्तीअनुसार यारागाउँमा जन्मिएका उड्ने सिद्ध पाएका कुन्छाङ झलु नाम गरेका लामाले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए। गुम्बापारिको पहाडको चुचुरोलाई स्थानीयवासी कुन्छाङ झलु लामाको बासस्थान मान्ने गरेका छन्। 

मुख्य गुम्बाभन्दा केही तल पेयुङखोलाको किनारमा अर्को गुम्बा पनि बनाइएको छ। दुवै ठाउँको गुम्बामा नियमित पूजाआजा हुने आनी ढोलकरले बताए। लुरी गुम्बाको नजिकैको यारा र घारागाउँमा धर्मशाला र होटलको सुविधा छ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट ध्यखोला, ध्ये, सुर्खाङ, यारा हुँदै एक घण्टा सवारीसाधनको यात्रापछि पुगिने घारागाउँबाट २० मिनेटको पैदलयात्रा गरेपछि दामोदरकुण्ड जाने बाटोमै रहेको लुरी गुम्बा पुगिन्छ। लोमान्थाङबाट लुरी सर्किट पदमार्गको प्रयोग गरेर पनि यहाँ जान सकिन्छ। चराङबाट घारा जाने क्रममा ध्ये, सुर्खाङ र यारागाउँ, अनौठा आकृति भएको पहाड अवलोकन गर्न पाइन्छ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका र गण्डकी प्रदेश सरकारले सडकबाट लुरी गुम्बा पुग्ने ढुंगाको सिँढी चिनेर पदमार्ग बनाएका छन्। गाउँपालिका र प्रदेश सरकारको १५-१५ लाख रूपैयाँ बजेटमा उकालोमा करिब तीनसय मिटर पक्की पदमार्ग निर्माण भएको वडाध्यक्ष पासाङ गुरुङले बताए।

यस वर्ष सार्वजनिक शौचालय बनाउन पाँच लाख रूपैयाँ बजेट विनियोजन गरेको वडाध्यक्ष गुरुङले बताए। रासस


प्रकाशित : मंगलबार, माघ २९ २०८१११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend