मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

रसुवामा पर्यटक आवागमनमा उल्लेख्य कमी, पर्यटन व्यवसाय ठप्प

बिहीबार , माघ १७ २०८१
रसुवामा पर्यटक आवागमनमा उल्लेख्य कमी, पर्यटन व्यवसाय ठप्प

लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार जिल्लाको उच्च भागमा हिउँ परेको तथा प्राकृतिक रूपमा रहेका गहिरा खोँच, ताल, कुवासहित ओसिलो पदमार्गमा पानी जमी अस्वाभाविक रुपमा चिसो बढेपछि पर्यटक आउनेक्रम कमी भएको हो।

रसुवा- पछिल्ला दिनमा मौसममा देखिएको गडबडीका कारण हिमाली जिल्ला रसुवामा अत्यधिक चिसो बढेसँगै पर्यटक आवागमनमा उल्लेख्य कमी आएको छ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार जिल्लाको उच्च भागमा हिउँ परेको तथा प्राकृतिक रूपमा रहेका गहिरा खोँच, ताल, कुवासहित ओसिलो पदमार्गमा पानी जमी अस्वाभाविक रुपमा चिसो बढेपछि पर्यटक आउनेक्रम कमी भएको हो। 

सामान्यतया हरेक वर्षको जाडो मौसममा पर्यटकको आवागमन कमी हुने तथा फागुन १५ गतेपछि क्रमिक रूपमा यो वृद्धि हुँदै जाने भए पनि यसवर्ष माघको पहिलो हप्तादेखि मौसम गडबडी भएसँगै जिल्लाको जनजीवन कष्टकर बनेको होटल व्यवसायी संघ रसुवाका अध्यक्ष निसान गजुरेलले जानकारी दिए।

जिल्लामा अत्यधिक चिसो बढेपछि त्यसको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा परेको बताउँदै अध्यक्ष गजुरेलले तामाङ सम्पदा पदमार्गअन्तर्गत गतलाङ पार्वतीकुण्ड र थुमनको नाकथली क्षेत्रसहित गोसाइँकुण्ड, लाङ्टाङ क्षेत्रमा भ्रमण गर्न चाहने प्रकृतिप्रेमी पदयात्री तथा तीर्थयात्रीको अभावमा पर्यटन व्यवसाय करिब बन्द अवस्थामा पुगेको स्पष्ट गरे।

जिल्लाको उकाली-ओराली, भञ्ज्याङ-चौतारी, ताल-तलैया, दुर्लभ वन्यजन्तु, स्थानीय संस्कृतिसहित रहनसहन, नाँचगान, पानी-झर्ना, निकुञ्जभित्रका संरक्षित बन तथा वनस्पतिलगायत सम्पदाले आकर्षित गरी पर्यटक आउने गरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत साहले जानकारी दिए।

यसैगरी पवित्र तीर्थस्थल गोसाइँकुण्डको स्नान गर्नाले मनोकांक्ष पूरा हुने धार्मिक विश्वासहित तीर्थयात्री तथा विशेषगरी उत्तरगयाको डाँडाँगाउँस्थित लामो तथा ठाडो भाँगेझर्ना हेर्न आउने पर्यटक पनि बढ्दै गएको उत्तरगया गापा वडा नं २ का वडाध्यक्ष टुकुप्रसाद सुवेदीले बताए। रासस


प्रकाशित : बिहीबार , माघ १७ २०८११२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend