मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पाथीभरामा केबलकार निर्माण पनि नरोकौँ, स्थानीयका असहमतिलाई पनि सम्बोधन गरौँ : योगेश भट्टराई

बुधबार, माघ १६ २०८१
पाथीभरामा केबलकार निर्माण पनि नरोकौँ, स्थानीयका असहमतिलाई पनि सम्बोधन गरौँ : योगेश भट्टराई

नेता भट्टराईले पाथीभरा केबलकार निर्माणबारे १९ बुँदे धारणा व्यक्त गरेका छन्। उनले यो केबलकार निर्माणलाई वार्ता र छलफलबाट टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।

काठमाडौं- सांसद योगेश भट्टराईले पाथीभरामा केबलकार निर्माण पक्षले स्थानीय बासिन्दालाई सेयर, सहुलियत र रोजगारी दिनुपर्ने बताएका छन्।

नेकपा एमालेका सचिवसमेत रहेका भट्टराईले पाथीभरा केबलकार निर्माणबारे १९ बुँदे धारणा व्यक्त गरेका छन्। उनले यो केबलकार निर्माणलाई वार्ता र छलफलबाट टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।

संघीय, प्रदेश सरकार र स्थानीय तहबाट कानूनी प्रक्रिया पूरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार प्रालिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम सुरु गरेको उनले बताए। ताप्लेजुङमा क्रियाशिल राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधि केबलकर बन्नु पर्छ भन्ने पक्षमा रहेको उनको भनाइ छ।

भट्टराईले पाथीभरा केबलकार निर्माणका क्रममा झडपमा घाइते भएकाहरूको उपचार व्यवस्था गरी वार्ताबाटै समस्याको समाधान खोज्नुपर्ने पनि बताए। केबलकार निर्माण पक्षले ताप्लेजुङका मानिसलाई सहुलियतको ग्यारेन्टी गर्नुपर्ने पनि उनको भनाइ छ।

‘केबलकार निर्माण पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षमुनिका बालबालिका र अपांगता भएकाहरूलाई निःशुल्क सेवा दिने घोषणा गर्नुपर्दछ,’ उनले भने, ‘प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ सेयरको व्यवस्था गर्नुपर्दछ। रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई प्राथमिकता दिनुपर्दछ। केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्दछ। स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्दछ।’ 

उनले लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको सम्मान गर्ने पनि बताए। समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गर्नुपर्ने पनि उनले बताए। परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्‍भाव भड्किने खालका गतिविधिले हित नगर्ने उनको भनाइ छ।

यसका लागि आन्दोलनरत पक्षलाई बन्द हड्तालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेको उपचारको व्यवस्था गर्न पनि उनले माग गरेका छन्।

पाथीभराको मुख्य मन्दिरभन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेसन निर्माण हुने उनले बताए। पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेण्ट नबन्ने र बन्न नदिने उनले बताए। उनले २ हजार १ सय १२ वटा रुख कटान हुने भन्दै बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काट्ने हल्लामा कुनै सत्यता नभएको बताए।


प्रकाशित : बुधबार, माघ १६ २०८११७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend