सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

शुक्रबारदेखि मौसममा सुधार हुने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १२ २०७८
शुक्रबारदेखि मौसममा सुधार हुने

काठमाडौं- पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम शुक्रबारदेखि क्रमिक सुधार हुने भएको छ।

उक्त मौसमी प्रणाली शुक्रबारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए। 'बिहीबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहन्छ', उनले भने।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ।

हाल देशको सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। साथै सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिहीबार प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रही देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव ६ डिग्री र अधिकतम तापक्रम १६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।

त्यस्तै बुधबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव सात डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। रासस


प्रकाशित : बुधबार, माघ १२ २०७८१२:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend