बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

पोखरा फाइनान्स समस्याग्रस्त घोषणा गर्ने राष्ट्र बैंकको अन्तिम तयारी, १५ दिने पत्र पठाउने सञ्चालक समितिको निर्णय

बुधबार, माघ २ २०८१
पोखरा फाइनान्स समस्याग्रस्त घोषणा गर्ने राष्ट्र बैंकको अन्तिम तयारी, १५ दिने पत्र पठाउने सञ्चालक समितिको निर्णय

पोखरा फाइनान्ससँगै जानकी फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको स्थिति पनि नाजुक अवस्थामा छ। यी तिनवटै संस्थामाथि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही थालिसकेको छ।

काठमाडौं- राष्ट्र बैंकले पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्ने अन्तिम तयारी गरेको छ। राष्ट्र बैंक सञ्चालक समितिले पोखरा फाइनान्सलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६(६) बमोजिम १५ दिनभित्र सफाइको मौका दिने निर्णय गरेको छ।

अधिकांश वित्तीय सूचकहरु खराब रहेको भन्दै गभर्नर महाप्रसाद अधिकारीले सञ्चालक समितिमा ३५ दिने सूचना पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए। तर, गभर्नर अधिकारीको प्रस्तावमा अन्य सञ्चालक समितिका सदस्यहरु सहमत नभएपछि १५ दिनको मात्रै सफाइको मौका दिने निर्णय भएको राष्ट्र बैंकको  सञ्चालक समितका एक सदस्यले बताए।

३५ दिनको प्रक्रिया पूरा हुँदा गभर्नर अधिकारी अवकासका लागि बिदा गइसक्ने भएकाले १५ दिनको सफाइको मौका दिएर पोखरा फाइनान्सलाई टेकओभर गर्नुपर्ने सञ्चालक समितिका सदस्यहरुले अडान राखेपछि गभर्नर अधिकारी १५ दिने सूचना निकाल्न बाध्य भएको उनले बताए।

'समस्यामा परेपछि संस्थाहरुलाई समयमा नै टेकओभर गर्नुपर्छ। नत्र थप बदमासी बढ्ने र सञ्चालकहरु भाग्ने जोखिम रहन्छ। तर, गभर्नरले आफ्नो कार्यकाल अन्तिम समय रहेको भन्दै पोखरा फाइनान्सलाई ३५ दिने सूचना पठाउने गरी प्रस्ताव पेस गर्नुभएको थियो। समस्याग्रस्त भइसकेको संस्थालाई ३५ दिनको समय दिँदा यसले थप जोखिम निम्त्याउने भन्दै सफाइका लागि १५ दिनभन्दा बढी समय दिनुहुन्न भन्ने पक्षमा बहुमत सदस्यले अडान राखेपछि गभर्नर बाध्य हुनुभयो। पोखरा फाइनान्सलाई १५ दिनको समयभित्र सफाइका लागि पत्र पठाउने निर्णय भएको छ', ती सञ्चालकले भने।

पोखरा फाइनान्सले पत्र पठाउनासाथ राष्ट्र बैंकले यसलाई समस्याग्रस्त घोषणा गर्ने तयारी भएको समेत ती सञ्चालकले बताए। पोखरा फाइनान्सको वित्तीय स्थिति थप खराब हुँदै गएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले असोज महिनाको तथ्यांक परिमार्जित गर्दै पोखरा फाइनान्सले दाबी गरेभन्दा निकै बढी खराब कर्जा देखाएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पोखरा फाइनान्सले १४.४४ प्रतिशत खराब कर्जा देखाएकोमा राष्ट्र बैंकले प्रकाशित गरेको विवरणमा ४१.०७ प्रतिशत पुगेको देखाइएको छ।

फाइनान्सको पुँजीकोष ८.५७ प्रतिशतले ऋणात्मक भइसकेको राष्ट्र बैंकले आफ्नो तथ्यांकमा राखेकाले स्थिति थप खराब रहेको देखिन्छ। यसको प्राथमिक पुँजीकोष ७१ करोड ११ लाख रूपैयाँले ऋणात्मक रहेको छ।

यस आधारमा हेर्दा शीघ्र सुधारात्मकसम्बन्धी राष्ट्र बैंकको व्यवस्थाले पनि पोखरा फाइनान्स समस्याग्रस्त घोषणा गरी टेकओभर गर्नुपर्ने चरणमा रहेको देखाउँछ।

पोखरा फाइनान्ससँगै जानकी फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको स्थिति पनि नाजुक अवस्थामा छ। यी तिनवटै संस्थामाथि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही थालिसकेको छ।

जानकी फाइनान्स र नारायण डेभलपमेन्ट बैंकको पुँजीकोष सकारात्मक नै रहेकाले गभर्नर महाप्रसाद अधिकारी आफ्नो कार्यकालमा समस्याग्रस्त घोषणा नगर्ने मनस्थितिमा रहेको बताइएको छ।


प्रकाशित : बुधबार, माघ २ २०८११८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend