मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

‘बन्दीपुर भ्रमण वर्ष २०२५’ मनाइँदै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १६ २०८१
‘बन्दीपुर भ्रमण वर्ष २०२५’ मनाइँदै

'जिम्मेवार पर्यटकीय क्रियाकलापका माध्यमबाट समृद्ध एवं सुसंस्कृत बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको सङ्ख्या वार्षिक दुई लाख पुर्‍याउने उद्देश्यसहित बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको हो'

काठमाडौं- पहाडकी रानी उपनामले परिचित पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ आयोजना हुने भएको छ । 

बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धन, गन्तव्यको पहिचान र आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्यका साथ सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरिएको काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
 
बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको बताए।

'जिम्मेवार पर्यटकीय क्रियाकलापका माध्यमबाट समृद्ध एवं सुसंस्कृत बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको सङ्ख्या वार्षिक दुई लाख पुर्‍याउने उद्देश्यसहित बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको हो', उनले भने ।
      
भ्रमण वर्ष सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी वैश गुरुङको संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिवालय गठन गरिएको छ। सचिवालय संयोजक वैश गुरुङका अनुसार भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रवर्द्धन गरी पर्यटकको सङ्ख्या दोब्बर बनाउने योजना छ।

'भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटक ल्याउने योजना बनाएका छौँ', उनले भने, 'भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक आठ लाख पर्यटक बन्दीपुर पुर्‍याउने हाम्रो लक्ष्य छ।'

गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाई तीन दिन बनाइनेछ। साथै विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार पुर्‍याइनेछ।

हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार वटा होमस्टे (घरबास)का साथै समग्र गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन्। जसमा दैनिक एक हजार सात सय पर्यटक अट्ने क्षमता छ।

भ्रमण वर्षमार्फत यहाँको सांस्कृतिक सम्पदा संरक्षणसहित यामअनुसारको ‘प्याकेज’ तयार गरिनेछ भने सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटकीय ‘सर्किट’को प्रवर्द्धन हुने अपेक्षा गरिएको पर्यटनविज्ञ तथा सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले बताए।
      
भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्न पर्यटकको उमेर र रुचिअनुसारका प्याकेज निर्माण गर्नुका साथै ‘गाउँमै कमाऔँ गाउँमै रमाऔँ’ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता बढाउने गाउँपालिकाको लक्ष्य छ। भ्रमण वर्ष सफल पार्न कुल चार करोड ४३ लाख ५० हजार खर्च हुने गाउँपालिकाको अनुमान छ। रासस


प्रकाशित : मंगलबार, पुस १६ २०८११०:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend