मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सेवासुविधा विस्तारपछि कञ्चनजंघामा बर्सेनि बढ्दै पर्यटक

आइतबार, पुस १४ २०८१
सेवासुविधा विस्तारपछि कञ्चनजंघामा बर्सेनि बढ्दै पर्यटक

हरेक वर्ष तुलनात्मक रूपमा पर्यटकको आगमन बढ्दै गएको छ। चालु आर्थिक वर्षको हालसम्ममा ८७७ पर्यटक यहाँ आएका छन्।

ताप्लेजुङ- कञ्चनजंघा क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बर्सेनि बढ्दै गएको छ। पदमार्गको सुधार, पर्यटकका लागि आवश्यक सुविधा विस्तारले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको हो।

पछिल्लो साढे चार वर्षमा तीन हजार चार सय ८९ पर्यटक कञ्चनजंघा क्षेत्र भ्रमणमा आएका कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ। तीमध्ये तीन हजार दुईसय १९ जना विदेशी पर्यटक रहेका परिषद्का संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए। पर्यटकको आगमन वृद्धि हुनुमा प्रचारप्रसारसँगै आवश्यक पूर्वाधार निर्माण, सुविधा विस्तारलगायत कारण रहेको उजले बताए।

यादवका अनुसार हरेक वर्ष तुलनात्मक रूपमा पर्यटकको आगमन बढ्दै गएको छ। चालु आर्थिक वर्षको हालसम्ममा आठ सय ७७ पर्यटक यहाँ आएका छन्। आव २०७६/७७ को छ महिनामा छ सय आठ जना पर्यटक आएका उनले जानकारी दिए। 

आव २०७८/७९ मा दुईसय ६, आव २०७९/८० मा सातसय १३, आव २०८०/८१ मा एक हजार हजार ८५ जना पर्यटक आएका जनाउँदै यो तथ्यांकलाई हेर्दा क्रमशः पर्यटकको आगमनमा वृद्धि हुँदै गएको यादवले बताए।

यसैबीच, कञ्चनजंघा आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा आगामी वैशाख ५ देखि ७ गतेसम्म कञ्चनजंघा हीरक महोत्सव आयोजना गरिने भएको छ। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले आयोजना गर्ने उक्त महोत्सव फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपमा हुनेछ।

पदयात्रा, फोटो प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन तथा खाद्य परिकारको प्रदर्शनीलगायत गतिविधिसहित खुला पुरुष भलिबल प्रतियोगितासमेत सञ्चालन हुने परिषद्का सदस्य सचिव मनकुमार राईले जानकारी दिए। उनका अनुसार काठमाडौं र बेलायतमा पनि महोत्सवसम्बन्धी कार्यक्रम गरिने कार्यतालिका रहेको छ।

समुद्री सतहदेखि आठ हजार पाँचसय ८६ मिटर उचाइमा रहेको कञ्चनजंघा हिमालको पहिलो सफल आरोहण सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्यान्डले गरेका थिए। रासस


प्रकाशित : आइतबार, पुस १४ २०८११३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend