मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै

बिहीबार , पुस ११ २०८१
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै

अध्यक्ष पाण्डेका अनुसार जिल्लामा पहिलो पटक निर्माण गरिएको जिपलाइन शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ।

गुल्मी- जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ। गाउँपालिका-३ स्थित देवालय मन्दिरबाट देवीभगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरिएको हो।

‘रुरु रेसुंगाको धार्मिक आश, छत्रकोटमा बसौँ बास’ भन्ने नाराका साथ छत्रकोटलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पालिकाले जिपलाइन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए।

'पालिकाभित्र रहेका धार्मिक एवं पर्यटकीयस्थलको प्रचारप्रसार गर्दै पर्यटक प्रवर्द्धनमार्फत आम्दानी गर्ने लक्ष्य लिएका छौँ', उनले भने, 'रोजगारी सिर्जनाका लागि जिपलाइन निर्माण गरेका हौँ।'

अध्यक्ष पाण्डेका अनुसार जिल्लामा पहिलोपटक निर्माण गरिएको जिपलाइन शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ। छत्रकोटले निर्माण गरेको जिपलाइन सबै मिलेर सञ्चालन गर्नुपर्ने भन्दै उनले र अन्य पालिकाले पर्यटन पर्वद्धनका लागि पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

'यहाँ निर्मित जिपलाइनमार्फत पर्यटकलाई थप आकर्षित गर्न अन्य स्थानीय तहले पर्यटकीय पूर्वाधार निर्माण गरेमा जिल्लामा नै पर्यटक भित्र्याउन सकिन्छ', अध्यक्ष पाण्डेले भने। उनका अनुसार निर्मित जिपलाइनमा दुई टावरबीचको दुरी नौ सय ६० मिटर रहेको छ भने कुल लम्बाइ एक हजार ८० मिटर र उचाइ ६७ मिटर छ।

जिपलाइनमा प्रतिसेकेण्ड १५ देखि २० मिटर दुरी पार गर्न सक्नेछ। सुरु स्टेशनबाट ५५ देखि ७७ सेकेण्डमा यात्रा पार गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरीले बताए । पर्यटकको तौल अनुसारमा यात्रा पार गर्न लाग्ने समय भने फरक पर्नेछ।

प्रमुख प्रशासकीय अधिकृत पुरीले ८६ लाख ७३ हजार एकसय ४४ रूपैयाँमा सानु सेतीदेवी कन्ट्रक्सन प्रालिले जिपलाइन निर्माण सम्पन्न गरेको हो। यसबाट यात्रा गर्न पालिकाबासीलाई चारसय रूपैयाँ, विद्यार्थीका तीनसय रूपैयाँ, छत्रकोटभन्दा बाहिरका नागरिकलाई पाँचसय रूपैयाँ र विदेशी नागरिकका एक हजार पाँचसय रूपैयाँ शुल्क तोकिएको पालिका कार्यालयले जनाएको छ।

जिपलाइनमा चढ्ने प्रत्येक पर्यटकका लागि १० लाख रूपैयाँको बिमा गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिए। हाल पालिकाले सञ्चालन गर्ने जिपलाइनको दिगो सञ्चालनका लागि पालिकाले निजी क्षेत्रलाई दिनेगरी तयारी भइरहेको भन्दै केही दिनमा बोलपत्र आह्वानको तयारी गरिएको उनले बताए।

जिपलाइन निर्माण भएसँगै पर्यटन प्रर्वद्धन हुने र रोजगारीका अवसर प्राप्त हुने भन्दै स्थानीय खुसी भएका छन्। स्थानीय उत्पादनको बजारीकरण, पर्यटक प्रवर्द्धनका साथै रोजगारीको अवसर सिर्जना हुने अपेक्षा स्थानीयले गरेका छन्। 'जिपलाइनले यस क्षेत्रमा थुप्रै मात्रामा रोजगारी सिर्जना गर्ने विश्वास लिएका छौँ', स्थानीय भुवन भुसालले भने।

जिपलाइनको नजिकै रिडी-तम्घास सडक पर्दछ। यहाँ वनभोजका लागि थुप्रै आन्तरिक पर्यटक आउने सम्भावना रहेको भन्दै भुसालले धार्मिक आस्थाका हिसाबले चोयघा मन्दिरमा पुग्ने धार्मिक पर्यटकको आगमन पनि बढ्ने उनले बताए। रासस


प्रकाशित : बिहीबार , पुस ११ २०८११२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend