मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव, एक लाख पर्यटक सहभागी हुने अनुमान

बिहीबार , पुस ११ २०८१
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव, एक लाख पर्यटक सहभागी हुने अनुमान

भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको समयमा लक्ष्यभन्दा बढी पर्यटक महानगरमा भित्रिएको बताइन्।

चितवन- भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ। भोलि शुक्रबारदेखि १६ गतेसम्म पश्चिम चितवनको मेघौलीमा महोत्सव गर्न लागिएको हो।

जानकी माध्यामिक विद्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरू रहने संयोजक मायाराम चौधरीले जानकारी दिए। उनका अनुसार महोत्सव गर्न ६१ लख रूपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

महोत्सवमा स्थानीय थारू, कुमाल, दराई, मगर, गुरुङ, बोटे, मुसहर समुदायसहितका खानाका परिकार राखिने छन्। स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन महोत्सव फलदायी हुने विश्वास गरिएको छ। महोत्सवमा एक लाखभन्दा बढी पर्यटकले सहभागिता जनाउने अनुमान गरिएको छ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको समयमा लक्ष्यभन्दा बढी पर्यटक महानगरमा भित्रिएको बताइन्। उनले महानगरपालिकाभित्र एक वर्षमा बाह्य पर्यटक दुई लाख र आन्तरिक १० लाख पर्यटकले यहाँ भ्रमण गरेका बताइन्।

'भ्रमण वर्षले यहाँका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन, आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धिमा टेवा पुगेको छ। दिगो पर्यटन पूर्वाधार विकास, होटल रेष्टुरेन्टमा सेवा वृद्धि भएकाले पर्यटकको सङ्ख्या, बसाइँ अवधि एवं आर्थिक क्रियाकलापमा समेत वृद्धि भएको छ', महानगर प्रमुख दाहालले भनिन्।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको विकाससँगै जनतालाई प्रत्यक्ष लाभान्वित बनाउने उद्देश्यले भ्रमण वर्षको आयोजना गरिएको र सो उद्देश्य प्राप्तिमा सफल भएको बताए। स्थानीय जनतामा खाना महोत्सवले थप ऊर्जा मिल्ने उनले बताए।

महोत्सवमा स्थानीय खानासँगै ७७ जिल्लाको प्रतिनिधित्व गर्दै ७७ मिटर लम्बाइको नेपालको नक्सा विशेष आकर्षकका रूपमा रहनेछ। महोत्सव अवधिमा विभिन्न स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति पनि रहनेछ।

मेघौली पश्चिम चितवनको पर्यटकीय गन्तव्य हो। नारायणी र राप्ती नदी किनारमा पर्ने यो ठाउँ सूर्यास्त हेर्नका लागि उपयुक्त गन्तव्य मानिन्छ। पछिल्लो समय निकुञ्जको पश्चिमी क्षेत्रमा वन्यजन्तुको सङ्ख्या बाक्लिँदै जाँदा पर्यटकहरू आकर्षित हुने गरेका छन्। रासस


प्रकाशित : बिहीबार , पुस ११ २०८१११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend