सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पाँच महिनामा २५ हजारभन्दा बढी पर्यटकले गरे रसुवा भ्रमण, राजस्व संकलन सन्तोषजनक

बुधबार, पुस १० २०८१
पाँच महिनामा २५ हजारभन्दा बढी पर्यटकले गरे रसुवा भ्रमण, राजस्व संकलन सन्तोषजनक

रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा विदेशी गरी महिला नौ हजार एकसय तीन र पुरूष १६ हजार चारसय १८ रहेका छन्।

रसुवा- रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड र लाङ्टाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या २५ हजार नाघेको छ।

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म जम्मा २५ हजार पाँचसय २१ पर्यटकले गोसाइँकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले जानकारी दिए।

यसरी रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा विदेशी गरी महिला नौ हजार एकसय तीन र पुरूष १६ हजार चारसय १८ रहेका छन्। यसैगरी सार्क राष्ट्रका ६ हजार एकसय ६७ जना विदेशी पर्यटक रसुवा घुम्न आएको निकुञ्जको विवरणमा उल्लेख छ।

लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले पर्यटक, वन पैदावार, न्यायिक दण्ड तथा जरिवाना, सरकारी सम्पतिको बहालबाट दुई करोड २८ लाख सात हजार एकसय ८३ रूपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

निकुञ्ज क्षेत्र आसपासमा बसोबास गरिरहेका र अन्य जन्तुबाट अन्नबाली क्षति पुर्‍याएका ४३ किसानलाई नियमानुसार मूल्यांकनका आधारमा चार लाख आठ हजार ६ सय ५० रूपैयाँ राहत वितरण गरेको प्रमुख साहले बताए।

निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउन स्थानीय निकुञ्जवासीको साथ सहयोग रहिआएको, शान्तिसुरक्षाको लागि तैनाथ श्रीनाथ गणबाट नियमित गस्ती भइरहेको, सुख्खायाममा लाग्ने डँडेलो नियन्त्रणका लागि जनचेतना जगाउने कामलाई प्राथमिकतामा राखेको र अग्नि नियन्त्रणका सामग्रीसहित पूर्वतयारी अवस्थामा रहेको निकुञ्जले स्पष्ट गरेको छ।

यसैगरी निकुञ्जले समग्र वन तथा वनस्पति एवं जैविक विविधताको संरक्षण गर्न समयसापेक्ष जनचेतना अभिवृद्धि गर्ने, रेड पाण्डा र हिम चितुवाको संरक्षणका लागि थप अध्ययन अनुसन्धान गराउने कामलाई प्राथमिकतामा राखेको छ।

गोसाइँकुण्ड जादाँ काठे-लौरीको नाममा वनस्पति नकाट्न, पवित्रकुण्डमा स्नान गरेपछि शरीरमा लगाएका कुनै पनि वस्त्र कुण्ड आसपासका क्षेत्रमा नफ्याँक्न, कुण्डतर्फ जानेक्रममा पैदलमार्गमा भेटिने जनावरलाई नजिस्क्याइ संरक्षण अभियानमा साथ दिन र तोकिएको स्थानका भाडामा मात्र फोहर राखी वातावरण संरक्षण कार्यमा साथ दिन सबै यात्रु तथा पर्यटकसमक्ष निकुञ्ज प्रमुख शाहले अनुरोध गरे।

धार्मिकशास्त्र अनुसार लौरीविनायकमा चढाउने लठ्ठीका लागि निगालोमात्र प्रयोग गर्न अनुरोध गर्दै भगवान शिव निलाद्रि पर्वत जाँदा बेदको लठ्ठी प्रयोग गरेकाले भक्तजनले बाँस या नियालोको लठ्ठी प्रयोग गर्दा उपयुक्त हुने प्रमुख शाहले बताए।

यसैगरी मालपोत कार्यालय रसुवाले जग्गा जमिनको कारोबारअन्तर्गत चालु आवको साउनदेखि मङ्सिरसम्म पाँच सय १० थान रजिष्ट्रेसन पारित गरेको जनाएको छ। मालपोत अधिकृत गणेश श्रेष्ठका अनुसार जग्गा लेनदेन कारोबारअन्तर्गत एक सय ३९ धितो बन्धकको लिखत पारित भएका छन्।

रजिष्ट्रेसन, नामसारी, जरिवाना, पुँजीगत लाभकर र अन्य विविध शीर्षकबाट पाँच महिनाको यस अवधिमा ९० लाख चार हजार एक सय ४५ रूपैयाँ राजस्व दाखिला भएको जिल्ला मालपोत प्रवक्ता सविता पौडेलले जानकारी दिइन्।

हिमाली क्षेत्र भएका कारण चिसोयामलाई मध्यनजर गरी मालपोत कार्यालयभित्र सेवाग्राही विश्राम स्थल बनाइएको, महिला-पुरुषका लागि छुट्टाछुट्टै शौचालय र बालबच्चा लिई आउने महिला सेवाग्राहीलाई स्तनपान गराउने कक्ष, तातोचिसो पानीका लागि डिस्पेन्सर, मालपोतसम्बन्धी जानकारी दिने कक्ष र समाचार तथा मनोरञ्जनका लागि टेलिभिजनको व्यवस्था गरिएको छ। रासस


प्रकाशित : बुधबार, पुस १० २०८११७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend