सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

आउने बर्सादमा १ हजार मेगावाट बिजुली खेर जाने भएपछि भारत निर्यातको दौडधुपमा कुलमान

सोमबार, माघ १० २०७८
आउने बर्सादमा १ हजार मेगावाट बिजुली खेर जाने भएपछि भारत निर्यातको दौडधुपमा कुलमान

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा पछिल्लो समय २२ सय मेगावाट विद्युत् उपलब्ध छ। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले ४ सय ५६ मेगावाट बिजुली उत्पादन गरेपछि प्रणालीमा गुणात्मक परिवर्तन देखिएको हो। 

यस्तोमा अपेक्षित रुपमा माग भने बढ्न सकेन। उद्योगीलाई बिजुली नदिएको गुनासो बढेपछि होङ्सीसहितका उद्योगहरूले अहिले बिजुली पाइरहेका छन्।

यसवर्षको लक्ष्मीपूजाको दिनको साँझको विवरण हेर्दा १ हजार २ सय ७० मेगावाट मात्रै बिजुलीको उच्च माग देखियो। गत असोज १० गते सबैभन्दा बढी १ हजार ७ सय २० मेगावाटको हाराहारीमा माग पुगेको थियो। गत पुस १६ गते बेलुका १७ सय मेगावाट माग भएको थियो। यसकारण पनि निर्यात हुन सकेन भने आगामी बर्सादमा बिजुली खेर जाने निश्चित रहेको छ। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आउने बर्सादमा बिजुली खेर जाने देखेपछि भारतमा निर्यातका लागि जोडबल गरिरहेका छन्। गत वर्ष ५ सय मेगावाट बिजुली खेर गएपछि कुलमानको चर्को आलोचनासमेत भएको थियो। सोहीकारण पनि आगामी बर्सादमा बिजुली निर्यातका लागि गत साता भारतमा नयाँ प्रस्ताव पठाइएको छ। 

बिजुली थपिएपछि खेर जाने चिन्ता 

चालु वर्षको ६ महिनामै ५९८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि सरकारले भारतमा निर्यात गर्न मुख्य चासो दिएको छ। आगामी बर्सादमा पनि बिजुली खेर जाने भएपछि सरकारले निर्यात बजार खोज्न थालेको हो। 

नेपाल विद्युत प्राधिकरणले पुनः २ सय ४४ मेगावाट विद्युत निर्यातका लागि भारतलाई गत साता मात्रै प्रस्ताव गरेको छ। प्राधिकरणले १४४ मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मध्य मर्स्याङ्दी र ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत बर्सादमा निर्यात गर्न प्रस्ताव गरेको हो। 

गत वर्ष ५ सय मेगावाट बिजुली खेर तामाकोशीसहितका आयोजनाको उत्पादन नै बन्द गरिएको थियो। आगामी बर्सादमा १ हजार मेगावटासम्म बिजुली खेर जाने भएपछि सरकारले गत साता भारताई २४४ मेगावाट बिजुली खरिद गर्न प्रस्ताव पठाएको हो। गत वर्ष पनि तामाकोशीको ४५६ मेगावाट बिजुलीसहित ६१० मेगावाट निर्यातको लागि भारतलाई प्रस्ताव पठाइएको थियो। तर भारतले अन्तिम समयमा आएर दैनिक ३९ मेगावाट बिजुली खरिद गरेको थियो। 

नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएसँगै तीन महिना अगाडि ३९ मेगावाट बिजुली निर्यात गरेको थियो। नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति पाएको थियो। नुवाकोटमा सञ्चालनमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स) मा बिक्री गरिएको थियो। 

अन्तरदेशीय प्रसारण लाइनबाट ६ सय मेगावटासम्म निर्यात

नेपालको पहिलो ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट ६ सय मेगावाटसम्म विद्युत निर्यात गर्न सकिने गरी नेपाल र भारत पक्षबीच सहमति भएको छ।

दुई साता अगाडि ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ३ सय ५० मेगावाटसम्म विद्युत आयात गर्न पाउने व्यवस्थालाई बढाएर ६ सय मेगावाटसम्म निर्यात र आयात गर्न पाउने सहमति भएको थियो। सो प्रसारण लाइनको क्षमता एक हजार मेगावाट छ।


प्रकाशित : सोमबार, माघ १० २०७८०२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend