मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

कार्यकारी अध्यक्ष अधिकारीको लापरबाहीका कारण नेपाल एयरलाइन्सको आन्तरिक उडान अनिश्चितकालका लागि ठप्प

सोमबार, पुस ८ २०८१
कार्यकारी अध्यक्ष अधिकारीको लापरबाहीका कारण नेपाल एयरलाइन्सको आन्तरिक उडान अनिश्चितकालका लागि ठप्प

निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीकै लापरबाहीका कारण निगमको आन्तरिक उडान पूर्णरुपमा बन्द भएको हो।

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडान आइतबारदेखि ठप्प भएको छ।

निगमले आन्तरिकतर्फ २ वटा ट्वीनअटर जहाज उडान गरिरहेको थियो। २ वटा ट्वीनअटर जहाजमध्ये कल साइन नाइन एन एबीटी जेठ २३ गतेदेखि इन्जिन अभावमा ग्राउन्डेड थियो।

यसैगरी अर्को जहाज एबीयू जहाज पनि शनिबारदेखि नै ग्राउन्डेड भएको छ। निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीकै लापरबाहीका कारण निगमको आन्तरिक उडान पूर्णरुपमा बन्द भएको हो।

समयमा नै इन्जिनको व्यवस्थापन नहुँदा उडान नै ठप्प भएको छ। एउटा जहाज जेठ २३ गते देखि ग्राउन्डेड भएपछि अधिकारीले अर्को जहाज आवर सेभ नीतिमा उडान गराइरहेका थिए। अर्को जहाजको पनि एउटा इन्जिनको उडान आवर सकिएसँगै उडान नै ठप्प भएको हो।

अध्यक्ष अधिकारीको लापरबाहीका कारण इन्जिन सट्टापट्टाको काम लम्बिएको थियो। केही दिनअगाडि मात्रै इन्जिन सट्टापट्टाका लागि सम्झौता भएपनि उसले तत्कालन इन्जिन दिने छैन।

सम्झौतामा नै ६० दिनमा इन्जिन दिने प्रतिबद्धता गरेको थियो। जसका कारण इन्जिन सट्टापट्टाको जिम्मा पाएको कम्पनीले तोकेको समयमा नै इन्जिन दिँदा पनि ४५ दिन जहाज ग्राउन्डेड हुनेछ। तर समयमा इन्जिन आउनेमा निगमकै कर्मचारी विश्वस्त छैनन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई गुमराहमा राख्दै सुरक्षामा गम्भिर खेलाँची गर्दै जहाज उडानको प्रयाससमेत असफल भएको थियो। जेठमै इन्जिन मर्मत नगरी उडान गर्न नमिल्ने भन्दै थन्किएको एउटा इन्जिन झिकेर नाइन एन एबीयू जहाजमा राख्दै उडान गर्न लागिएको थियो। तर उक्त कामसमेत असफल भएको थियो।

जेठ २३ गतेदेखि ग्राउन्डेड नाइन एन एबीटी जहाजको एउटा इन्जिनमा मेटालिक चिप्स देखिएपछि उडान बन्द भएको थियो भने अर्को इन्जिन एचएसआईको बेला समस्या देखिएपछि इन्जिन सिज गरिएको थियो। तर अधिकारीले सुरक्षामा लापरबाही गर्दै जेठमै मेटालिक चिप्स देखिएको इन्जिन नाइन एन एबीयूमा राखेर उडान तालिका तय गरेका थिए।

तर उडानमा जाने क्रममा पाइलटले रनअप गरेर देखाउन भन्दै माग गरेका थिए। सोहीअनुसार रनअप गर्दा फेरि पनि मेटालिक चिप्स देखिएको थियो। त्यसपछि पाइलटले उडान गरेनन् र जहाज अनिश्चितकालका लागि ग्राउन्डेड भएको हो।

जहाज ग्राउन्डेड भएसँगै अछामको कमलबजार विमानस्थल उद्घाटन उडानको तयारीसमेत असफल हुने भएको छ। मन्त्री पाण्डेले १३ गते विमानस्थलमा उद्घाटन उडान गर्ने तयारी गरेका थिए। निगमभित्र यस्तो विकृति हुँदासमेत मन्त्री पाण्डे भने मौन छन्।


प्रकाशित : सोमबार, पुस ८ २०८११६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend