मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पर्यटकीयस्थल हम्पालमा पदमार्ग निर्माण

बुधबार, पुस ३ २०८१
पर्यटकीयस्थल हम्पालमा पदमार्ग निर्माण
फाइल तस्बिर

कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिको ताङ्ले-भमरकोट-डाँडाकमेरे-माटे-जलजला-मोहोरेडाँडा-घोडेपानी जोड्ने पदमार्गअन्तर्गत माटेको लेकसम्म १६ किलोमिटर लामो पदमार्ग निर्माण भइसकेको छ।

पर्वत- जिल्लाको सबैभन्दा उच्च स्थानमा अवस्थित पर्यटकीयस्थल हम्पालमा पदमार्ग निर्माण सुरु भएको छ। उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण चक्रीय पदमार्गको वैकल्पिक गन्तव्यका रूपमा विकास भएको हम्पालमा पदमार्ग निर्माण गर्न थालिएको हो।

गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा यस वर्ष झण्डै दुई किलोमिटर लामो पदमार्ग निर्माण हुने पर्वत-भमरकोट-घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काले जानकारी दिए। उनका अनुसार गत महिनादेखि सुरु भएको पदमार्ग निर्माण छ महिनाभित्रमा सम्पन्न हुने छ।

कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिको ताङ्ले-भमरकोट-डाँडाकमेरे-माटे-जलजला-मोहोरेडाँडा-घोडेपानी जोड्ने पदमार्गअन्तर्गत माटेको लेकसम्म १६ किलोमिटर लामो पदमार्ग निर्माण भइसकेको छ।

बाँकी रहेको क्षेत्रमध्ये यस वर्ष दुई किलोमिटर पदमार्ग निर्माण गरिने भएको हो। योसँगै थप एक किलोमिटर पदमार्ग निर्माण गर्न सकेमा जलजलासम्म सिधा पदमार्गले जोडिने खड्काले जानकारी दिए। पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा ३० लाख रूपैयाँ विनियोजन भएको छ।

नयाँपुलबाट पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएपछि पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको छ। माटेको लेकबाट जलजलासम्म पदमार्ग नहुँदा पर्यटकहरु घाँसे भिर र झाडीको बाटो पार गर्दै कष्टपुर्ण यात्रा गर्न बाध्य भएका छन्। अहिले निर्माण हुन लागेको पदमार्गले माटेको लेकबाट हम्पालको वाइफाइ डाँडासम्म जोडिने खड्काले बताए।

तेह्र वर्षअघि पहिचान भएको नयाँपुल-मोहरिया-ताङले-भमरकोट-फलाटे-डाँडाकेटेरी-थामाको डिल-हम्पाल-जलजला- कोखेडाँडा-मोहरेडाँडा-फूलबारी-पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आए पनि हम्पाल क्षेत्रमा व्यवस्थित पदमार्ग निर्माण बल्ल सुरु भएको स्थानीय होटल व्यवसायी टीका पुनले जानकारी दिए। पदमार्ग निर्माण भएपछि राति वा दिउँसो जुनसुकै समयमा पनि पदयात्रा गर्न सहज हुने उनले बताए। पदमार्ग निर्माणपछि विद्युतीकरण पनि आवश्यक पर्ने उनको भनाइ छ। 

जलजला गाउँपालिका र मोदी गाउँपालिकाको सहयोगमा गत मङ्सिरमा जलजला र वाइफाइडाँडासम्म विद्युत् सुविधा विस्तार गरिसकिएको छ। अब पदमार्गमा रातिको समयमा हिँडडुल गर्न मिल्नेगरी विद्युतीकरण गर्नुपर्ने आवश्यकता रहेको पुनले बताए। यो पदमार्गमा आश्रयस्थल र खानेबस्ने ठाउँको व्यवस्थापन भएपछि गत कात्तिकदेखि नियमित रूपमा सञ्चालनमा ल्याइएको हो पुनले भने, 'कल्चर, नेचर र एडभेन्चर यो पदमार्गको आकर्षण हो।' मनोरम हिमशृङ्खला, सुन्दर जंगल, हावापानी, सूर्योदय र सूर्यास्त दृश्यावलोकन गर्नुका साथै तनाव व्यवस्थापनका लागि यो पदमार्ग निकै आकर्षक मानिएको छ।

विसं २०६८ मा स्थापना भएको संस्थामार्फत तत्कालीन जिल्ला विकास समिति, सङ्घीयतापछि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको गरी हालसम्म रु एक करोड ६० लाख सहयोगमा नयाँ पुलबाट पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको माटेसम्मको १६ किलोमिटर पदमार्ग निर्माण भएको हो। 

ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो। साथै पदमार्गमा १० वटा विश्रामस्थल निर्माण भएको छ। यो पदमार्गले मोदी गाउँपालिकाको १, २, ३ र ५ नम्बर, जलजला गाउँपालिकाको ५ र ६ तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडालाई समेटेको छ । हिमाल, पहाडी भूगोल अवलोकन गर्दै यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने लौसीबोट, भुक र ताङ्ले तथा लेसपार्कमा घरबास (होमस्टे) सञ्चालन भएको छ भने मगर, गुरुङ, दलित, क्षेत्री र ब्राह्मण समुदायको विविधतायुक्त संस्कार, संस्कृति, रहनसहन र जनजीवन यो पदमार्गको आकर्षण हो।

दुई रात तीन दिनमा यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने वनजङ्गलमा विभिन्न प्रजातिका जडीबुटी, वन पैदावर पाइनुका साथै मृगलगायत वन्यजन्तुको बसोबास छ। गाईभैँसीका घुम्ती गोठ पनि देख्न सकिन्छ भने धवलागिरि र अन्नपूर्ण रेञ्जका हिमाल अवलोकन गर्दै यात्रा गर्न पाइन्छ। पदमार्गमा पर्ने फलाटे, हम्पालस्थ्ति वाइफाइ डाँडा र जलजलामा चिया पसल र रेष्टुन्ट तथा सामुदायिक लज सञ्चालन भएका छन्। पूर्वजानकारी दिई आउने पर्यटकलाई पर्वत-भुमरकोट-घोडेपानी पर्यटन क्षेत्र विकास समितिले घुमाउने व्यवस्था मिलाउँदै आएको छ।

प्रदेश सरकारले पर्वतको हम्पाल, घोडेपानी नजिकै कास्की र म्याग्दीको सिमानामा पर्ने मुण्डेलाई पोखराको स्याटेलाइट गन्तव्य घोषणा गरेको छ। सडकका कारण छोटिएको अन्नपूर्ण चक्रीय पदमार्गमा सहायक गन्तव्य पहिचान गरेर पर्यटकको बसाइ लम्ब्याउन सरकार तथा निजी क्षेत्रले सक्रियता देखाएका छन्। रासस


प्रकाशित : बुधबार, पुस ३ २०८१११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend