सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

आयातमा कडाइ गरेपछि पुसमा चाँदीको आयात घट्यो 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ९ २०७८
आयातमा कडाइ गरेपछि पुसमा चाँदीको आयात घट्यो 

चालु वर्षको सुरुदेखि नै आयात बढ्दै विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले चाँदी आयातमा कडाइ गर्दै आएको थियो। असोजमा चाँदीको भन्सार महसुल बढेको थियो। 

काठमाडौं- नेपाल राष्ट्र बैंकले चाँदी आयातमा कडाइ गरेपछि पुसमा चाँदी आयात घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार पुसमा चाँदीको आयात अघिल्ला महिनाको तुलनामा धेरै घटेको हो। 

अघिल्ला पाँच महिनामा मासिक औषतमा २६ हजार किलो चाँदी आयात भएकोमा पुसमा भने हजार किलो पनि पुगेको छैन। भन्सार विभागका अनुसार पुस महिनामा ६०२ किलो मात्र चाँदी आयात भएको छ। 

मूल्यका हिसाबले पुसमा ६ करोड रुपैयाँको मात्र चाँदी आयात भएको छ। साउनदेखि मंसिरसम्म १२ अर्ब ५१ करोड रुपैयाँको चाँदी आयात भएकोमा पुससम्म १२ अर्ब ५७ करो रुपैयाँको आयात भएको छ। पुससम्म १ लाख ३३ हजार १४ किलो चाँदी आयात भएको छ। 

चालु वर्षको सुरुदेखि नै आयात बढ्दै विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले चाँदी आयातमा कडाइ गर्दै आएको थियो। असोजमा चाँदीको भन्सार महसुल बढेको थियो। 

त्यस्तै नेपाल राष्ट्र बैंकले चाँदीको आयातमा कडाइ गरेको थियो। मौद्रिक नीतिको पहिलो त्रायमासिक समीक्षाबाट चाँदीको आयातमा कडाइ गरेको थियो। चाँदी आयात गर्दा एक पटकमा ३५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा सटहीको सुविधा दिने व्यवस्था गरेको थियो।

चाँदीको आयात स्वाट्टै घटेपनि सुनको आयात भने खासै घट्न सकेको छैन। भन्सारको तथ्यांक अनुसार पुसमामात्र ३ अर्ब १७ करोड रुपैयाँको सुन आयात भएको छ। पुसमा ४५४ किलो सुन आयात भएको छ। साउनदेखि पुससम्म भने ३१८८.५ किलो सुन आयात भएको छ। 


प्रकाशित : आइतबार, माघ ९ २०७८०६:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend