बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

पीपीएको भुक्तानी रोक्ने कुलमानको पत्रपछि झस्किए भारतीय लगानीकर्ता, लगानी फिर्ता लैजानेसम्मको चेतावनी

मंगलबार, मंसिर १८ २०८१
पीपीएको भुक्तानी रोक्ने कुलमानको पत्रपछि झस्किए भारतीय लगानीकर्ता, लगानी फिर्ता लैजानेसम्मको चेतावनी

काठमाडौं- आयोजनाको विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) को भुक्तानी रोक्ने विषयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पत्रले स्वदेशीमात्रै नभएर विदेशी लगानीकर्ता नै झस्किएका छन्। 

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै जलविद्युत् र सौर्य आयोजनाका पीपीएको भुक्तानी रोक्ने विषय गत बुधबार पियोर इनर्जी लिमिटेडलाई पत्र लेखेरै बताएको थियो।

गोल्यान समूहको मूख्य लगानी रहेको पियोर इनर्जीमा भारतीय लगानीकर्ताको समेत ३० प्रतिशत लगानी छ। उद्योगी पवन गोल्यानको नाम जोडेर पीपीएको भुक्तानी रोक्ने पत्र पठाएसँगै भारतीय लगानीकर्ताहरूले गम्भीर आपत्ति जनाएका छन्। पियोर इनर्जीमा भारतीय लगानी समूह रेनफ्रोको ३० प्रतिशत लगानी रहेको छ।

साझा सेयरधनी रहेको आधारमा एउटा कम्पनीले भुक्तानी गर्नुपर्ने बक्यौता रकमको दायित्व बिल्कुलै स्वतन्त्र अस्तित्व रहेको अर्को कम्पनीलाई बहन गराउने कार्य कम्पनी कानूनको स्थापित सिद्धान्तविपरीत देखिन्छ। सोही कारण जनाउँदै भारतीय लगानीकर्ताले नेपालस्थित भारतीय दूतावास र नेपाल सरकारअन्तर्गतका ऊर्जा मन्त्रालय तथा विभागहरूमा समेत गम्भीर आपत्ति जनाउँदै नेपालबाट लगानी नै फिर्ता लैजाने चेतावनी दिएका छन्। उनीहरूले दूतावासमार्फत लगानी सुरक्षाको ग्यारेन्टीसमेत सरकारसँग माग गरेका छन्।

यदि कुलमानको योजनाअनुसार पीपीएको भुक्तानी रोक्का गरेमा पियोर इनर्जीमार्फत हालसम्म भएको अर्बौँ लगानी जोखिममा पर्ने छ। अहिलेसम्म सौर्यतर्फ २० मेगावाट उत्पादन गरेर प्रसारण लाइनमा जडान गरिसकेको छ। जसमा दुई अर्ब रुपैयाँ हाराहारी लगानी भएको छ भने भारतीय लगानीकर्ताले ६० करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन्।

साथै थप १७० मेगावाट सोलार ऊर्जा उत्पानका लागि लेटर अफ इन्टेन्ट (एलओआई) पाइसकेको छ भने थप ७०० मेगावाट सौर्य ऊर्जा उत्पादनमा जाने तयारी भारतीयसहित नेपाली समूहले गरेका छन्। तर लगानी नै हतोत्साहित गर्नेगरी पीपीएको भुक्तानी रोक्ने पत्रले विदेशी लगानीकर्ता झस्किएका छन्। सरकारले बेलैमा लगानीकर्तालाई विश्वस्त नपारे आउन लागेको अर्बौँका नयाँ  योजनाबाट विदेशी लगानीकर्ता बाहिरिन सक्ने चेतावनी ऊर्जा क्षेत्रका विज्ञहरूले समेत दिएका छन्।

अन्य कुनै विषयलाई लिएर यता जोडेर भुक्तानी रोक्छु भनेर पत्र पठाउनु गलत भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण अर्यालले बताए। ‘विदेशी, लगानीकर्तासँगै स्वदेशी लगानीकर्ता नै त्रासमा देखिएका छन्,’ अर्यालले बताए। प्राधिकरणले ऊर्जा उत्पादक कम्पनीलाई पठाएको पत्र प्राधिकरण र ऊर्जा उत्पादक कम्पनीहरूबीच भएको विद्युत बिक्री सम्झौताको प्रावधानविपरीत रहेकोसमेत सीईओ अर्याल बताउँछन्।

विदेशी लगानीसमेत प्रचुर मात्रामा रहेको ऊर्जा क्षेत्रमा प्राधिकरणको यस्तो कदमले नकारात्मक असर पार्ने प्रष्ट भएकोसमेत अर्यालको भनाइ छ।

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्यमा समेत गम्भीर असर पर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ। यदि घिसिङले भुक्तानी रोक्ने काम गरेमा कम्पनीले बैंकलाई तिर्नुपर्ने किस्ता र ब्याजमा समेत असर पार्ने छ। जहाँ अधिकांश लगानी बैंकहरूले गरेका हुन्छन्।

पियोर इनर्जीमा भुक्तानी रोकेमा मासिक २ करोड ३३ लाख रुपैयाँ घाटा कम्पनीलाई हुनेछ। जसको चक्रीय भुक्तानीमा असरसँगै बैंक र विदेशी लगानीमा पनि गम्भीर असर पर्ने छ। परियोजनामा नबिल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ऋण उपलब्ध गराएक छन्। प्राधिकरण र पियोर इनर्जीबीच प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा सम्झौता भएको छ। कम्पनीले २० मेगावाट सोलार प्यानलमार्फत मासिक ३२ लाख युनिट बिजुली प्राधिकरणलाई दिइरहेको छ।

सौर्य ऊर्जाबाट २० मेगावाट विद्युत् उत्पादन गरिएको छ। पियोर इनर्जी लिमिटेडले उत्पादन गरेको सौर्य ऊर्जा नेपाल विद्युत् प्राधिकरण केन्द्रीय प्रसारणलाइनको कोहलपुरस्थित सबस्टेसनमा जोडिएको छ। दुई भागमा विभाजन भएको पियोर इनर्जीको यस परियोजनामा पहिलो र दोस्रो भागबाट १०/१० मेगावाट विद्युत् उत्पादन गरी लगभग १६ किलोमिटरको ३३ केभी (किलो भोल्ट) डबल सर्किट ट्रान्समिसन लाइनमार्फत कोहलपुर सबस्टेसनमा जडान गरिएको छ।

पियोर इनर्जीको यस सोलार परियोजना लगभग ४३ बिघामा फैलिएको छ। २१ बिघा क्षेत्रको पहिलो भागमा ६ सय ५५ र ६ सय ६० वाटका करिब १९ हजार सोलार प्यानल र २२ बिघा क्षेत्रको दोस्रो भागमा ६ सय ४० र ६ सय ४५ वाटका करिब १९ हजार सोलार प्यानल जडान गरिएको छ।

पियोर इनर्जीको परियोजनाबाट उत्पादिन विद्युत् खरिदका लागि कम्पनी र प्राधिकरणबीच २०७८ मंसिर १२ मा भाग-१ तथा भाग-२ का लागि २५ वर्षे अवधि रहेका छुट्टछुट्टै विद्युत् खरिद-बिक्री सम्झौता भएको थियो। सुक्खायाममा हुने लो भोल्टेज र लोडसेडिङको समस्यालाई केही हदसम्म न्यूनीकरण गर्न यो आयोजनाले सहयोग गर्ने छ।

गोल्यान समूहले झन्डै एक दर्जन आयोजनामार्फत ९ सय ९१ मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्न अनुमति लिएर निर्माणको प्रक्रिया अगाडि बढाउँदै छ। जसका लागि समूहले झन्डै २ खर्ब रुपैयाँ लगानी गर्दै छ। 

दुई खर्ब लगानीमार्फत एक हजार मेगावाट बिजुली उत्पादन गर्दै गोल्यान समूह दुई खर्ब लगानीमार्फत एक हजार मेगावाट बिजुली उत्पादन गर्दै गोल्यान समूह


प्रकाशित : मंगलबार, मंसिर १८ २०८१०६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend