मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सिद्धेश्वर गुफाको प्रवर्द्धन गर्न विस्तृत अध्ययन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १६ २०८१
सिद्धेश्वर गुफाको प्रवर्द्धन गर्न विस्तृत अध्ययन

धेरै वर्ष पहिलादेखि यहाँ रहेको यो गुफाको आवश्यक संरक्षण र प्रवर्द्धन नहुँदा ओझेलमा परेको बताउँदै आचार्यले यसको संरक्षण गरेर पर्यटकीय गतिविधि विस्तारमा जोड दिइएको छ।

तनहुँ- म्याग्दे गाउँपालिका-७ पयरेमा अवस्थित नीलकण्ठेश्वर सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि विस्तृत अध्ययन गरिएको छ। म्याग्दे गाउँपालिकाका प्राविधिकहरूले मङ्सिर ९ देखि १२ गतेसम्म उक्त ठाउँको विस्तृत अध्ययन प्रतिवेदन तयार गरेका हुन्। 

यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित अध्ययन गरी सुधारका योजनासहितको प्रतिवेदन तयार गरिएको निलकण्ठेश्वर महादेव सिद्धेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष श्रीभद्र आचार्यले बताए। 

पर्यटकीय सम्भावना भए पनि प्रचारप्रसारको अभावमा यो ठाउँ ओझेलमा परेपछि प्रवर्द्धनका लागि पहल गरिएको उनले बताए। यहाँको प्रचारप्रसार तथा पर्यटकीय सम्भावनालाई उजागर गरी धार्मिक गन्तव्यस्थल बनाउने उद्देश्यले स्थानीयवासी जुटेका हुन्। 

धेरै वर्ष पहिलादेखि यहाँ रहेको यो गुफाको आवश्यक संरक्षण र प्रवर्द्धन नहुँदा ओझेलमा परेको बताउँदै आचार्यले यसको संरक्षण गरेर पर्यटकीय गतिविधि विस्तारमा जोड दिइएको उल्लेख गरे। 

'यस गुफाका बारेमा धेरैलाई थाहा छैन, सामाजिक सञ्जालमार्फत हामीले प्रचारप्रसारमा जोड दिएका छौँ। स्थानीय सरकारलाई पनि यहाँ सम्भावना उजागरमा सहयोगसहित पूर्वाधार विकासका लागि अनुरोध गरेका छौँ। सोअनुरुप पहिलो चरणको अध्ययन सकिएको छ। अब पूर्वाधार निर्माणमा जोड दिनेछौँ।'

आचार्यसहित स्थानीयवासीले केही समयअघि मात्रै गुफाभित्र शिवलिङ्ग, गणेश, नाग, शङ्खलगायत भगवानका आकृतिसहितका संरचना फेला पारेका हुन्।

उनले भने, 'गुफाभित्र शिवलिङ्ग भएका बारेमा हामीलाई पनि थाहा थिएन, गुफा अवलोकनका क्रममा उक्त शिवलिङ्ग भेटियो। नजिक भएर पनि हामी अन्यौलमा रहेछौँ। शिवलिङ्गमा आफैँ जल चुहिने गरेको छ।' शिवलिङ्गको माथिपट्टि रहेको ढुङ्गाबाट आफैँ जल चुहिएर शिवलिङ्गमा झर्ने गरेको उनको भनाइ छ। 

आचार्यले भने, 'परापूर्वकालमा यस ठाउँमा भगवान् शिवजीले बास गरेको विश्वास स्थानीयमा छ। यहाँ एक सय आठ बेलका वृक्षहरू पनि छन्। यहाँको वस्तुस्थिति हेर्दा शिवको बास थियो भन्ने कुरामा द्विविधा छैन। यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ भनेर हामी जुटेका हौँ।'

सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि स्थानीय सरकारले पनि चासो देखाएको छ। यस ठाउँलाई म्याग्दे गाउँपालिकाको पर्यटकीयस्थलका रूपमा लिँदै आगामी दिनमा यसको व्यवस्थापनमा पालिकाले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए।

उनले भने, 'गाउँपालिकाले पालिकाभित्रका सबै पर्यटकीयस्थलको प्रचारप्रसार, प्रवर्द्धन, पूर्वाधार निर्माणमा सहयोग गरिरहेको छ। यहाँको विकासका लागि पालिकाले निरन्तर सहयोग गर्नेछ।' रासस


प्रकाशित : आइतबार, मंसिर १६ २०८११५:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend