मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नेपाल इन्डिया चाइना एक्सपो' गरिँदै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १६ २०८१
भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नेपाल इन्डिया चाइना एक्सपो' गरिँदै

पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले पोखरामा हुने कार्यक्रमले पोखराको पर्यटनलाई उल्लेखनीय रूपमा प्रवर्द्धन गर्ने बताए।

काठमाडौं- पर्यटन प्रवर्द्धन गरी छिमेकी मूलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रुपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाईस-२०२५)’ गरिने भएको छ। 

आगामी फागुन १२ देखि १४ सम्म पोखरामा उक्त एक्सपो (मेला) आयोजना गरिएको प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले जनाएको छ।

आयोजक पाटाका अनुसार एक्स्पोका लागि नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटनसँग सम्बन्धित संघसंस्थाको सहकार्य हुने छ। 

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार एक्स्पोमा एकसय भन्दा बढी क्रेता, ८० भन्दा बढी बिक्रेता, भारत र चीनका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्तालगायत गरी एकहजार बढीको सहभागिता रहनेछ। 

उनले एक्स्पो आयोजनाको मुख्य उद्देश्य दुई ठुला अर्थतन्त्र तथा पर्यटन स्रोतबजार भारत र चीनमा नेपालको पर्यटन सम्भाव्यता र एकीकृत व्यावसायिक अवसरलाई प्रवर्द्धन गर्नु रहेको बताए।

‘नाईस फर माईस एण्ड मोर’ भन्ने नाराका साथ आयोजना हुने एक्स्पोले पोखरालाई पदयात्रा र साहसिक पर्यटन केन्द्रको रूपमा मात्र नभइ माईस पर्यटन (अर्थात् बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनी) का लागि आकर्षक गन्तव्यको रुपमा प्रवर्द्धन गर्ने पाटाले आज विज्ञप्तिमार्फत जनाएको छ। 

एक्स्पोका संयोजक सुनिल भट्टराईले छिमेकी पर्यटन स्रोतबजार (चीन र भारत) बाट पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवाला एव् संघ संस्थालाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवर्द्धन, सम्पर्क सञ्जाल विस्तार, तथा त्रिदेशीय पर्यटनको नयाँ आयाम उजागर गर्ने महत्वपूर्ण मञ्च बन्ने विश्वास व्यक्त गरे।

पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले पोखरामा हुने कार्यक्रमले पोखराको पर्यटनलाई उल्लेखनीय रूपमा प्रवर्द्धन गर्ने बताए।

नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले दुई ठूला पर्यटन स्रोतबजारका क्रेता र विक्रेतालाई जोडेर पर्यटकीय गतिविधि र अनुभव आदानप्रदान गर्ने सो कार्यक्रम पर्यटन प्रवर्द्धनको महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे। 

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले नाईस कार्यक्रमलाई विशेष र प्रभावकारी बनाउन सबैको सक्रियता आवश्यक रहेको बताए। रासस


प्रकाशित : आइतबार, मंसिर १६ २०८११४:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend