शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

नारायणगढ-मुग्लिन सडक : भित्तो काटेर बनाइएको तुइनखोला पुल सञ्चालनमा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १६ २०८१
नारायणगढ-मुग्लिन सडक : भित्तो काटेर बनाइएको तुइनखोला पुल सञ्चालनमा
फाइल तस्बिर

योसँगै नाम्सी खोला पुल पनि सञ्चालनमा आएको दरैले जानकारी दिए। पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएपछि विसं २०७९ र २०८० का हिउँदका तीन/तीन महिना दिउँसोमा सडक रोकेर पुल बनाइएको हो।

चितवन- नारायणगढ-मुग्लिन सडक खण्डमा पर्ने तुइनखोलाको पुल सञ्चालनमा आएको छ। दुई वर्ष हिउँदमा सडक रोकेर भित्तो काटेर पहाड भत्काएसँगै पुल निर्माण गरिएको हो। 

नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का इन्जिनियर विजय दरैका अनुसार शनिबारबाट यो पु्ल सञ्चालनमा आएको हो।

योसँगै नाम्सी खोला पुल पनि सञ्चालनमा आएको दरैले जानकारी दिए। पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएपछि विसं २०७९ र २०८० का हिउँदका तीन/तीन महिना दिउँसोमा सडक रोकेर पुल बनाइएको हो। 

तत्कालीन समयमा आयोजनामा सूचना अधिकारी रहनुभएका इन्जिनियर कृष्ण आचार्यका अनुसार पुल निर्माणका लागि ६५ मिटर अग्लो पहाड दुई वर्ष लगाएर काटिएको हो। सो क्षेत्र सडक खण्डकै सबैभन्दा साँघुरो ठाउँ हो। हाल त्यहाँ पहाड भत्काएर सात दशमलव पाँच मिटर फराकिलो पुल बनाइएको छ। यो ६० मिटर लामो छ।

आचार्यले भने, 'एकापट्टी अग्लो पहाड र अर्कोपट्टी खोला छ, पहाड कडा चट्टान र काम गर्न निकै कठिन भयो।' पहाड फोर्न कठिन भएपछि विस्फोट गराउने तयारीसमेत गरेर अन्तिम चरणमा रोकिएको थियो।

विस्फोट गर्दा थप क्षति हुनसक्ने भएकाले अन्तिम प्रयास गर्ने सहमति अनुरुप गरिएको काम सफल भएको इन्जिनियर आचार्य बताउँछन्।

सो सडकखण्ड विस्तारसँगै त्यहाँ रहेका पुल फराकिलो बनाइएको हो। सडक निर्माणकै क्रममा चार वटा पुल फराकिलो बनाइएको थियो। बाँकी १५ पुलमध्ये अब एउटा पुलमात्र निर्माण गर्न बाँकी छ। इन्जिनियर दरैका अनुसार खहरे खोलाको पुल बनाउन बाँकी छ।

यो पुल मुआब्जाका कारण ढिलाइ भएको हो। पहुँच सडकको केही काम बाँकी रहेको भन्दै अबको दुई महिनामा यो पुल पनि सञ्चालनमा आउने उनले जानकारी दिए।

विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन्। सडक चौडा भएपछि पुलको काम थालिएको हो। यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ। पुलसमेत सोहीअनुसार फराकिलो बनाइएको छ।

पुल निर्माण अनक कन्स्ट्रक्सनले गरेको हो। १ अर्ब २७ करोड रुपैयाँको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो। तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो। रासस


प्रकाशित : आइतबार, मंसिर १६ २०८११३:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend