शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

बुल्दीखोलामा निर्माणाधीन पुलको काम ५० प्रतिशत सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १६ २०८१
बुल्दीखोलामा निर्माणाधीन पुलको काम ५० प्रतिशत सम्पन्न

वर्षायामको समयमा खोलामा बाढी आउँदा कजवेबाट पानी निकासा हुन नसक्दा खोला आसपासका बस्तीमा पानी पसेर क्षति हुने गरेको थियो।

तनहुँ- जिल्लाको व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ। 

व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ लागतमा निर्माणाधीन उक्त पुलको ५० प्रतिशत बढी भौतिक प्रगति भएको हो। पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको हुनेछ। 

पुल बनेपछि आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर संरक्षणमा सहयोग पुग्ने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेल बताए। 

हाल पुल निर्माण गरिएको स्थान नजिक कजवेबाट (पाइप राखेर बनाइएको अस्थायी संरचना) सवारीसाधान आवतजावत हुँदै आएको थियो। वर्षायामको समयमा खोलामा बाढी आउँदा कजवेबाट पानी निकासा हुन नसक्दा खोला आसपासका बस्तीमा पानी पसेर क्षति हुने गरेको थियो।

आगामी भदौ २२ गतेभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनी ज्वालामुखी कन्स्टक्सनसँग सम्झौता भएको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए। कम्पनीले गत वैशाखदेखि निर्माणलाई निरन्तरता दिएकाले छोटो अवधिमा उल्लेख्य प्रगति हासिल भएको उनको भनाइ छ। 

'सम्झौता अवधिभन्दा अगावै सम्पन्न गर्ने अपेक्षा गरिएको छ', शाखा अधिकृत तिवारीले भने, 'निर्माण कम्पनीले फागुनभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।'

सम्झौताअगावै निर्माण सम्पन्न गरेमा नगरपालिकाले पुरस्कृत गर्ने योजना बनाएको उनले बताए। रासस 


प्रकाशित : आइतबार, मंसिर १६ २०८११२:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend