मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटकको आगमन

शनिबार, मंसिर १५ २०८१
लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटकको आगमन

निकुञ्जका वरिष्ठ संरक्षण प्रमुख श्यामकुमार साहका अनुसार निकुञ्जमा प्रवेश गरेबापत नियमानुसारको शुल्कबाट कुल एक करोड ६८ लाख ७५ हजार ८ सय राजस्व संकलन भएको छ।

रसुवा- हिमाली क्षेत्रको अवलोकनका लागि आन्तरिक एवं बाह्य पर्यटक आउने क्रम जारी रहेको छ।

लाङटाङ राष्ट्रिय निकञ्जका अनुसार चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर १४ गतेसम्म लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा २२ हजारभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटकले भ्रमण गरिसकेको र हाल दैनिक २५ देखि ३० जनासम्म आउने गरेको धुञ्चेस्थित सुरक्षा जाँच चौकीले जनाएको छ।

निकुञ्जका वरिष्ठ संरक्षण प्रमुख श्यामकुमार साहका अनुसार निकुञ्जमा प्रवेश गरेबापत नियमानुसारको शुल्कबाट कुल एक करोड ६८ लाख ७५ हजार ८ सय राजस्व संकलन भएको छ। नेपालीलाई १ सय, सार्क राष्ट्रका नागरिकलाई एक हजार ५ सय र अन्य देशका लागि तीन हजार रूपैयाँ निकुञ्ज प्रवेश गरेवापत शुल्क लिने कानूनी प्रावधान रहेको बताइएको छ।

प्रत्येक वर्ष असोजदेखि पुस १५ र फागुनदेखि जेठ १५ गतेसम्म यी दुई याममा पर्यटकको आगमन हुने गरेको निकुञ्जले जनाएको छ। पर्यटकको सुविधाका लागि काठमाडौंमा भृकुटीमण्डप र रसुवाको धुञ्चे व्रावल तथा हेलम्बू पोष्टका स्थानबाट शुल्क लिने व्यवस्था मिलाइएको पर्यटकका अभिलेखकर्ता रेञ्जर केशव ढडारीले जानकारी दिए।

पवित्रतीर्थ गोसाइँकुण्ड रहेका कारण आन्तरिक पर्यटक भने बढी मात्रामा गोसाइँकुण्ड केन्द्रित हुने गरेको बताइएको छ। रसुवाको उच्च भागमा रहेका हिमश्रृङ्खला, सेताम्मे हिमाल, ताल तलैया, ककरो भीर, उकाली ओराली भञ्ज्याङ चौतारी, स्थानीय भेषभूषा, भर्ना, स्थानीय परिकारका खाना एवं विविध प्राकृतिक सम्पदाले रम्न पाइने गरेको व्यवसायी बताउँछन्।

पर्यटकीय मार्गको धुन्चे-गोसाइँकुण्ड, ठूलोस्याफ्रु, स्याफ्रु-लाङटाङका मार्गका सबै होटल तथा लज चालु रहेको र खान बस्न कुनै समस्या नहुने होटल व्यवसायी संघका जिल्ला अध्यक्ष निसान गजुरेलले जानकारी दिए।

यस्तै गोसाइँकुण्ड तथा लाङटाङ पदमार्गमा भ्रमण गर्दा निस्कने फोहर तोकिएको स्थानमा मात्र फ्याँक्न, बाटोमा भेटिने जनावरलाई माया गरी संरक्षण गरिदिन, कुनै पनि वनस्पति नकाट्न सबै यात्रुमा अनुरोध गरिएको वरिष्ठ संरक्षण प्रमुख साहले अनुरोध गरे। रासस


प्रकाशित : शनिबार, मंसिर १५ २०८११३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend