शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

मध्यपहाडी लोकमार्ग : ४४ करोड लागतमा बागलुङ र पर्वतमा पाँच पुल बन्दै

बिहीबार , मंसिर १३ २०८१
मध्यपहाडी लोकमार्ग :  ४४ करोड लागतमा बागलुङ र पर्वतमा पाँच पुल बन्दै

डिजाइन गरेर काम सुरु भएको पुलको निमार्ण आगामी दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ। ४४ करोड १५ लाख ३५ हजार रूपैयाँमा ती पाँच पुल निर्माण हुनेछन्।

बागलुङ- मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ र पर्वतमा एकैपटक पाँचवटा पुल निर्माण सुरु गरिएको छ। बागलुङको काठेखोलामा एउटा र पर्वतमा चारवटा पुल निर्माण थालिएको हो।

मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका अनुसार काठेखोला, पर्वतको डिमुवा सुन्दरेखोलामा पुल निर्माण सुरु भइसकेको छ भने मोदीखोलामा दुईवटा पुलको काम यही मङ्सिरभित्र सुरु हुने भएको छ।

पातीखोलामा पुल निर्माणका लागि सर्वेक्षण भइरहेको लोकमार्ग कार्यालय पर्वतकी सब-इन्जिनियर अस्मिता भट्टराइले जानकारी दिए। काठेखोला, पातीखोला र मोदीखोलामा पुल बनेर यातायात सञ्चालन गरिए पनि लोकमार्ग फराकिलो बनाएपछि पुललाई थप चौडा बनाइने उनको भनाइ छ। उनका अनुसार काठेखोला, डिमुवा सुन्दरेखोला र मोदीखोलामा एक/एक र पातीखोला दुईवटा पुल निर्माण गर्न लागिएको हो।

सबइन्जिनियर भट्टराईले भने, 'सुन्दरे खोलामा अहिलेसम्म पुल बनेकै थिएन, यहाँ आवश्यक देखिएको हुँदा पहिलोपटक पुल बनाउने भएका हौँ, अन्य ठाउँमा वर्षौँअगाडि पुल बनेका थिए, ती पुल साँघुरो र जीर्ण बन्दै गएको हुँदा त्यस स्थानमा दोहोरो गाडी ओहोरदोहोर गर्न सक्ने गरी पुल निर्माण थालिएको हो।'

पाँचवटै पुल निर्माणको जिम्मा लुम्बिनी/प्राकृतिक जेभीले पाएको छ। डिजाइन गरेर काम सुरु भएको पुलको निमार्ण आगामी दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ। ४४ करोड १५ लाख ३५ हजार रूपैयाँमा ती पाँच पुल निर्माण हुनेछन्। रासस


प्रकाशित : बिहीबार , मंसिर १३ २०८११३:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend