शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

गोरखामा मध्यपहाडी राजमार्गको दुईवटा खण्डको काम अझै अलपत्र

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर ८ २०८१
गोरखामा मध्यपहाडी राजमार्गको दुईवटा खण्डको काम अझै अलपत्र

मसानेठाँटी-ठाँटीपोखरी खण्डको १५ दशमलव ७० किलोमिटर सडक कालोपत्रको काम पनि अझै अलपत्र छ। उक्त खण्डको भौतिक प्रगति ३५ प्रतिशतमात्र छ।

गोरखा- मध्यपहाडी राजमार्गअन्तर्गत गोरखामा पर्ने २३ किलोमिटर सडकखण्ड कालोपत्रको काम अझै बाँकी रहेको छ। जिल्लाभित्र पर्ने ६३ दशमलव ३७ किलोमिटर सडकमध्ये हालसम्म ४० दशमलव तीन किलोमिटरमात्र कालोपत्रको काम सम्पन्न भएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पालुङटारका इन्जिनियर विदुर सुवेदीले जानकारी दिए।

उनका अनुसार गोरखामा यस सडकलाई पाँच खण्डमा छुट्याएर निर्माणको काम सुरु भएको थियो। जसमा दुईवटा खण्डको काम भने अझै अलपत्र छ।

यहाँको भीमेसन थापा गाउँपालिकाको ओख्ले-निवेल खण्डमा पर्ने १६ दशमलव ८७ किलोमिटर सडकमध्ये ६ दशमलव ८७ किलोमिटर सडक कालोपत्रको काम बाँकी छ। उक्त खण्डमा १० किलोमिटर सडक गत आर्थिक वर्षमा कालोपत्र भएको थियो।

बाँकी काम आगामी पुस पहिलो साताभित्र निर्माण सम्पन्न गर्नेगरी छैटौँ ठेकेदार कम्पनीलाई म्याद गरिएको छ। विसं २०७२ माघमा ठेक्का सम्झौता भएर काम सुरु भएको सो खण्डको भौतिक प्रगति ७५ प्रतिशत रहेको इन्जिनियर सुवेदीले जानकारी दिए।

यस्तै मसानेठाँटी-ठाँटीपोखरी खण्डको १५ दशमलव ७० किलोमिटर सडक कालोपत्रको काम पनि अझै अलपत्र छ। उक्त खण्डको भौतिक प्रगति ३५ प्रतिशतमात्र छ। 'ठेकेदारको ढिलासुस्तीले उक्त खण्डको कामले गति पाउन सकेको छैन, यहाँ आगामी चैतभित्र काम सम्पन्न गर्नेगरी दोस्रोपटक म्याद थप भएको छ', उनले भने।

मसानेठाँटी-ठाँटीपोखरी खण्ड सडक कालोपत्रको ठेक्का हिन्दुङ प्यासिफिक जेभीले पाएको थियो। विसं २०७७ असारमा आयोजना कार्यालयसँग ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो। आरुघाट-ओख्ले खण्डअन्तर्गत पर्ने १३ किलोमिटरमध्ये १२ दशमलव पाँच किमी भने कालोपत्र भइसकेको छ।

बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने उक्त खण्डको पाँच सय मिटर सडक कालोपत्रको काम भने रोकिएको छ। यस्तै निवेलबाट मसाने ठाँटीसम्मको १२ दशमलव ३० किलोमिटर र ठाँटीपोखरीबाट चेपेसम्मको पाँच दशमलव पाँच किलोमिटर सडकखण्ड कालोपत्रको काम पनि सकिएको इन्जिनियर सुवेदीले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, मंसिर ८ २०८१०९:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend