मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

नेपाल एयरलाइन्सले भाडा घटाएको होइन, छुटका नाममा गर्दैछ प्रचारबाजी

बिहीबार , मंसिर ६ २०८१
नेपाल एयरलाइन्सले भाडा घटाएको होइन, छुटका नाममा गर्दैछ प्रचारबाजी

तर नेपाल एयरलाइन्सले भने मन्त्रीको निर्देशन पालना गरेझैँगरी झारो टार्ने तथा भ्रम सिर्जना गर्नेगरी काम गरेको देखिन्छ।

काठमाडौं- नेपाल एयरलाइन्स हवाई भाडा घटाउनभन्दा पनि झुटा प्रचारबाजीतर्फ उन्मुख देखिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई भाडा घटाएको देखाउन नेपाल एयरलाइन्सले छुट दिएको भन्दै विज्ञप्ति जारी गरेको छ। 

तर विज्ञप्तिमा सबै उडानका सबै टिकटमा छुट नभइ सिट उपलब्धताको आधारमा 'फर्स्ट कम फर्स्ट सर्भ' अनुसार परिचयपत्र लिएर आउनेलाई भारतका ३ गन्तव्यमा २५ सय र अन्य गन्तव्यमा ५ हजार रूपैयाँ छुट दिने उल्लेख छ।

बुधबारमात्रै पर्यटन मन्त्रालयमा हवाई भाडावृद्धि नियन्त्रणबारे भएको छलफलमा पर्यटनमन्त्री बद्री पाण्डेले वायुसेवा कम्पनीहरुलाई उच्चत मूल्यको भाडा लिएको भन्दै त्यसबारे पुनर्विचार गर्न निर्देशन दिएका थिए। उनले भाडाको विवरण पेस गर्न सबै एयरलाइन्स कम्पनीहरुलाई २४ घण्टे निर्देशनसमेत दिएका थिए।

तर नेपाल एयरलाइन्सले भने मन्त्रीको निर्देशन पालना गरेझैँगरी झारो टार्ने तथा भ्रम सिर्जना गर्नेगरी काम गरेको देखिन्छ। विज्ञप्तिअनुसार निगमले भाडा घटाएको नभइ टिकट काटेर निगमको केन्द्रीय कार्यालयमा आउनेलाई मात्रै छुट दिने भनेको हो।

नेपाल एयरलाइन्सकै विज्ञप्तिलाई आधार मान्ने हो भने दिल्लीको भाडा डिमाण्ड एण्ड सप्लाइअनुसार तय हुने र त्यसमा २५ सय छुट दिने भनिएको छ। जुन मन्त्री तथा प्राधिकरणलाई झुक्याउने खेल हो।

भाडा घटाउने नै भए टिकट काट्ने प्रक्रियामा नै घटाउनुपर्ने हुन्छ। तर यहाँ भाडा घटाएको नक्कली प्रचार गर्न खोजिएको छ।

टिकट काटेपछि छुट रकम लिन केन्द्रीय कार्यालय धाउनुपर्नेको ठाउँमा अनलाइनबाट नै किन फिर्ता गर्ने व्यवस्था गरिएन? यसबाट नै पुष्टि हुन्छ कि निगम यात्रुमैत्री सेवामा भन्दा पनि केवल प्रचारबाजीमा केन्द्रित छ।

हेर्नुहोस् निगमले जारी गरेको विज्ञप्ति :

nepal airlines.png

 

 


प्रकाशित : बिहीबार , मंसिर ६ २०८११७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend