मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

३० दिनमा सी-चेक भएर नेपाल ल्याउनुपर्ने जहाज ८३ दिनमा आइपुग्यो, ५३ दिनको व्यापार घाटाको जिम्मेवार को?

दुईवटा वाइडबडीको सी-चेकमा लापरबाही हुँदा डेढ अर्ब आम्दानी गुम्यो

सोमबार, मंसिर ३ २०८१
३० दिनमा सी-चेक भएर नेपाल ल्याउनुपर्ने जहाज ८३ दिनमा आइपुग्यो, ५३ दिनको व्यापार घाटाको जिम्मेवार को?

यसअघि जुन २२ मा नै सी-चेकका लागि पठाइएको जहाज पनि ८२ दिन ढिला गरी सेप्टेम्बरमा मात्रै नेपाल ल्याइएको थियो।

काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी तथा व्यवस्थापनको चरम लापरबाहीका कारण ३० दिनमै सी-चेक भएर नेपाल आउनुपर्ने जहाज ८३ दिनपछि काठमाडौं आइपुगेको छ। अगष्ट २८ मा सी-चेकका लागि जहाज इटाली पठाइएको थियो। 

३० दिनमा जहाजको सी-चेक सम्पन्न गरेर नेपाल ल्याउने सर्तमा जहाज इटालीको एसपी एटिटेक कम्पनीमा पठाइएको थियो। तर निगम कार्यकारी अध्यक्ष अधिकारीले सेटिङमा छनोट गरेको कम्पनीको लापरबाहीका कारण जहाज समयमा नै सी-चेक हुन सकेन। 

यसअघि जुन २२ मा नै सी-चेकका लागि पठाइएको जहाज पनि ८२ दिन ढिला गरी सेप्टेम्बरमा मात्रै नेपाल ल्याइएको थियो।

पहिलो जहाज सी-चेककमा क्रममा समयमा नै पार्टपुर्जा व्यवस्थापन असहज भएको र दोस्रोमा सी-चेकमा कुनै ढिला नगरी जहाज नेपाल आउने निगम कार्यकारी अध्यक्ष अधिकारीले सबैतिर जवाफ दिएका थिए। तर ३० दिनमा आउनुपर्ने जहाज ८३ दिनमा सोमबार काठमाडौं आइपुग्ने छ। जहाज बीनायात्रु काठमाडौं आएको हो।

काठमाडौंमा परीक्षण उडानपछि मात्रै जहाज व्यवसायिक उडानमा फर्कने छ। जहाज सी-चेकका लागि कम्पनी छनोटमा नै अधिकारीले कमिसन लिँदै सम्झौतामा ३० दिन उल्लेख गरेपनि समय ढिला हुँदा पनि मिलाउने वचन दिएको हुँदा नै मर्मतमा ढिलासुस्ती भएको निगम स्रोतको दाबी छ। 

३० दिनमा मर्मत हुनुपर्ने जहाज ८२ र ८३ दिन लाग्दा निगमले डेढ अर्ब रुपैयाँ आम्दानी गुमाएको छ। जहाज सी-चेकमा लापरबाही हुँदा दसैँ तथा तिहारको समयको सबैभन्दा बढी हुने आम्दानी गुमेको निगम स्रोतको भनाइ छ।

सामान्य एक दिनमात्रै वाइडबडी नउड्दा निमगको व्यापारमा १ करोड ५० लाख रुपैयाँभन्दा बढीले कमी आउँछ। सोही हिसाबमा नाइन एन एएलवाई तोकिएको समयमा भन्दा ५२ दिन बढी समय मर्मतमा लाग्दा ७८ करोड रुपैयाँ आम्दानी गुमाएको थियो।

यसैगरी नाइन एन एएलजेटको तोकिएको समयमा भन्दा ५३ दिन बढी मर्मतमा रोकिँदा ७९ करोड ५० लाख रुपैयाँभन्दा बढी आम्दानी घटेको छ। यो अन्य बेलाको दैनिक आम्दानीमा हिसाब गरिएको भएपनि दसैँ तथा तिहार र पर्यटकीय सिजन परेका कारण निगमले थप आम्दानी गुमाएको देखिन्छ।

दुईवटा वाइडबडी सी-चेकमा लापरबाही हुँदा निगमले १ अर्ब १५ करोड रुपैयाँ त सामान्य दिनको हिसाबमा नै आम्दानी गुमाएको छ। 


प्रकाशित : सोमबार, मंसिर ३ २०८१०९:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend