शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २८ २०८१
म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु

सरकारले बजेट व्यवस्थापन गरेमा पर्याप्त उपकरण, मजदुर परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गरेर चालु आर्थिक वर्षमै सडक निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधिले बताए।

म्याग्दी- मंगला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर-बरङ्जा-महेश-धापुङ-ताराखोला सडक स्तरोन्नति सुरु भएको छ।

गण्डकी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालयले पहिलो चरणमा मंगला गाउँपालिका-३ पखेर-बरङ्जा खण्डको सडक स्तरोन्नतिको काम थालेको हो।

मंगला गाउँपालिका-३ का वडाध्यक्ष यामबहादुर रोकाका अनुसार २०६६ सालमा मार्ग खुलेको मंगला-३ र ४ नम्बर वडा तथा बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो।  

प्रदेश सरकारले १० करोड बजेट व्यवस्था गरेको यो सडक निर्माणका लागि एनके युनाइटेड जेभीसँग पाँच करोड ८६ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए। 

गत असारमा ठेक्का सम्झौता भएको यो योजना १८ महिनामा सम्पन्न गर्ने लक्ष्य छ। पखेरबाट बरङ्जातर्फ तीन किलोमिटर पाँच सय मिटर दूरीमा सडक फराकिलो पार्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने, पानी निकासका निम्ति नाली र पर्खाल निर्माण गरी ग्राभेल तथा केही ठाउँमा ढलान गर्ने योजना रहेको छ।

प्रदेश सरकारले गत आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको यस आयोजनामा यस वर्ष एक करोड ५० लाख बजेट छुट्याएको छ।

सरकारले बजेट व्यवस्थापन गरेमा पर्याप्त उपकरण, मजदुर परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गरेर चालु आर्थिक वर्षमै सडक निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि नवराज कार्कीले बताए। 

प्रदेश सरकारमार्फत पखेर-बरङजासहित म्याग्दीमा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ। ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक २८ २०८११०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend