मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

९ महिनामा काठमाडौं विमानस्थल हुँदै ३२ लाख ७ हजारले गरे आन्तरिक हवाई यात्रा, कुन एयरलाइन्सको बजार हिस्सा कति?

सोमबार, कात्तिक २६ २०८१
९ महिनामा काठमाडौं विमानस्थल हुँदै ३२ लाख ७ हजारले गरे आन्तरिक हवाई यात्रा, कुन एयरलाइन्सको बजार हिस्सा कति?

आन्तरिक उडानमा सबैभन्दा बढी यात्रु बोक्ने एयरलाइन्स बुद्ध एयर हो। बुद्ध एयरसँग अहिले एटीआर जहाज १८ वटा रहेको छ।

काठमाडौं- सन् २०२४ को जनवरीदेखि अगस्टसम्मको ९ महिनाकै अविधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३२ लाख ७ हजारभन्दा बढी यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार ९ महिनामा ३२ लाख ७ हजार ७ सय ४२ जनाले आन्तरिक हवाई यात्रा गरेका छन्।

कार्यालयका अनुसार ९ महिनाको अवधिमा ७२ हजार ६ सय ७७ वटा उडान तथा अवतरण भएका छन्। जसमा ३६ हजार ३४ सय ४५ वटा उडान र ३६ हजा ३ सय ३२ वटा अवतरण भएका छन्।  

आन्तरिक उडानमार्फत काठमाडौं बाहिर जाने यात्रुको संख्या १६ लाख ४ हजार २ सय ६२ रहेको छ भने बाहिरबाट काठमाडौं आउने यात्रुको संख्या १६ लाख ३ हजार ४ सय ८० रहेको विमानस्थल कार्यालयले जनाएको छ। 

कार्यालयले दिएको सूचनाअनुसार फिक्सविङतर्फमा सबैभन्दा बढी यात्रुलाई सेवा दिने एयरलाइन्समा बुद्ध एयर रहेको छ।सबैभन्दा कम यात्रुलाई सेवा दिने एयरलाइन्समध्येमा नेपाल वायुसेवा निगम पनि रहेको छ। फिक्सविङतर्फ अहिले बुद्ध, यती, श्री, सीता, तारा र समिट एयर र वायुसेवा निगमले सेवा दिँदै आएका छन्।

काठमाडौं विमास्थलबाट अहिले धनगढी, सुर्खेत, नेपालगञ्ज, पोखरा, भैरहवा, चितवन, जनकपुर, सिमरा, राजविराज, विराटनगर, धनगढी, तुम्लिङटार र लुक्लामा सिधा उडान भएको छ।

बुद्ध एयर एक्लैले बोक्यो १९ लाख ५६ हजार यात्रु

आन्तरिक उडानमा सबैभन्दा बढी यात्रु बोक्ने एयरलाइन्स बुद्ध एयर हो। बुद्ध एयरसँग अहिले एटीआर जहाज १८ वटा रहेको छ। बुद्धले ९ महिनामै काठमाडौं विमानस्थलमार्फत १९ लाख ५६ हजार २ सय ३९ यात्रुलाई आन्तरिक हवाई सेवा प्रदान गरेको छ। बुद्धले ९ महिनाकै अवधिमा १७ हजार ५ सय ५० वटा उडान तथा १७ हजार ५ सय ५२ वटा अवतरण गरेको छ। 

बुद्ध एयर हुँदै काठमाडौंबाट बाहिर जाने यात्रुको संख्या ९ लाख ८१ हजार १ सय ५७ र काठमाडौं भित्रिने यात्रुको संख्या ८ लाख ७५ हजार ८२ जना रहेका छन्। बुद्ध एयरको बजार हिस्सा समग्रमा ६०.९८ प्रतिशत हो।

यसैगरी दोस्रो बढी यात्रुलाई सेवा दिन एयरलाइन्स यती एयर हो। यतिसँग ७ वटा एटीआर जहाज छन्। यतीले ९ महिनामा ६ लाख ४१ हजार ३ सय ३५ यात्रुलाई हवाई सेवा दिएको छ। 

एयरलाइन्सगत बजार हिस्सा.png

यसैगरी तेस्रो बढी यात्रु बोक्नेमा श्री एयर हो। श्रीसँग ११ वटा जहाज छन्। श्रीले ४ लाख ७८ हजार ४ सय ६८ यात्रुलाई सेवा दिएको छ। अहिले उडान नै बन्द रहेको सौर्यले जहाज दुर्घटना हुन अगाडिसम्म ५८ हजार ७ सय ४५ यात्रुलाई सेवा दिएको छ।

यस्तै तारा एयरले १२ हजार ९ सय ८९ जना, सीता एयरले १० हजार १ सय ४० र समिट एयरले ७ हजार ९ सय ७८ जनालाई सेवा दिएको छ भने नेपाल वायु सेवा निगमले ८ हजार ३ सय ७३ जनालाई हवाई सेवा दिएको छ।


प्रकाशित : सोमबार, कात्तिक २६ २०८११५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend