मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पर्यटक भित्र्याउन जैमिनीधामको प्रवर्द्धन गरिँदै

आइतबार, कात्तिक २५ २०८१
पर्यटक भित्र्याउन जैमिनीधामको प्रवर्द्धन गरिँदै

जैमिनी ऋषिले तपस्या गरेको गुफा र जैमिनीधामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न थालिएको हो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जैमिनीधामको महत्व बढाएको छ।

बागलुङ- जैमिनी नगरपालिकाले प्रमुख धार्मिक गन्तव्यको रूपमा रहेको जैमिनीधामको प्रवर्द्धन गरी पर्यटक भित्र्याउन योजना बनाएको छ।

जैमिनी नगरपालिका-१ जैमिनीधाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा अवस्थित छ। जैमिनी ऋषिले तपस्या गरेको गुफा र जैमिनीधामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न थालिएको हो।

ऐतिहासिक धार्मिकस्थलमा पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमार्फत पर्यटक भित्र्याउन थालिएको नगरपालिका कार्यालयले जनाएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जैमिनीधामको महत्व बढाएको छ।

राजमार्गमा गुड्ने सवारीसाधनमा हिँडेका पर्यटक जैमिनीधाम दर्शनका लािग पुग्न थालेपछि पूर्वाधार निर्माण जोड दिइएको नगर उपप्रमुख हरिहर शर्माले बताए। प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको स्थानलाई प्रचारप्रसार गरी पूर्वाधार निर्माणमा जोड दिइएको उनको भनाइ छ।

'धार्मिक महत्वको क्षेत्रलाई प्रचारप्रसार गर्नुका साथै पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा जोड दिएका छौँ। जैमिनी ऋषिको तपोभूमिलाई ध्यान केन्द्रका रूपमा विकास गर्न जग्गा व्यवस्थापन गरेका छौँ', उपप्रमुख शर्माले भने।

दीर्घकालीन योजना अनुसार जैमिनीधामको पुनःनिर्माण, सभाहल, आश्रयस्थल, पदमार्गलगायत संरचना निर्मायाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको उनले जानकारी दिए।

शर्माका अनुसार चालु आर्थिक वर्षमा २५ लाख रूपैयाँको पूर्वाधार निर्माण गर्ने योजनासहित काम अघि बढेको छ। 'नगरपालिकाले पालिकाको केन्द्र कुश्मिसेरा हुँदै भैरवस्थान जोड्ने पदमार्ग निर्माण गरिरहेको छ। पहिलो काम जैमिनी ऋषिको पूर्णकदको शालिक निर्माण गर्ने नगरको उद्देश्य छ। यसले पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयस्तर वृद्धि हुँदै जाने अपेक्षा लिएका छौँ', उनले भने।

कालीगण्डकीको तटीय क्षेत्रमा रहेकाले नदीको कटान जोगाउन नगरपालिकाले विगतका वर्षमा ठूलो लगानी गरिसकेको भन्दै नगर उपप्रमुख शर्माले अहिले करिब तीन रोपनी जग्गा व्यवस्थापन भइसकेकाले अब नगरपालिकाले गण्डकी ध्यान केन्द्र निर्माण अघि बढाउने उल्लेख गरे। उनले गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको १० लाख रूपैयाँ र पर्यटन मन्त्रालयको १५ लाख रूपैयाँ लगानीमा ध्यान केन्द्रका लागि पूर्वाधार निर्माण थालिएको जानकारी दिए।

जैमिनी ऋषिको पूर्णकदको शालिक स्थापना गर्ने योजना दुई वर्षभित्रै सम्पन्न गर्ने नगरपालिकाको योजना छ। धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न संघीयतासँगै नगरपालिकाको नाम जैमिनी ऋषिको नामबाट राखिएको उपप्रमुख शर्माको भनाइ छ। उनका अनुसार यहाँ शङ्खशिला, देव शिला र नाग शिला, जैमिनी ऋषिले तपश्या गरेको गुफा संरक्षणलगायत पूर्वाधार निर्माण गरिने छ।

पूर्वाधार निर्माणका लागि करिब १४ करोड रूपैयाँ खर्च लाग्ने अनुमान छ। जैमिनीधाममा व्यवसाय गर्दै आएका स्थानीय हरि नायकले कालीगण्डकी करिडोरका कारण जैमिनीधाम आउने पर्यटकहरू बढेका बताए। उनले करिडोर पुरै कालोपत्र भएमा बुटवल हुँदै मुक्तिनाथ जाने पर्यटकलाई जैमिनीधाममा रोक्न सकिने धारणा राखे।

'पर्यटक भित्राउन र रोकिराख्न व्यवस्थित सडक, बस्ने स्थान, रमणीय वातावरण आवश्यक पर्दछ। कालीगण्डकी करिडोरमा अहिले कालोपत्रको काम भइरहेको छ। लुम्बिनीका पर्यटकलाई मुक्तिनाथ भित्राउने मुख्य मार्गका रूपमा परिकल्पना गरिएको करिडोर सम्पन्न भएसँगै यसको सकारात्मक प्रभाव जैमिनीधामलाई पुग्नेछ', नायकले भने।

वेदव्यास पुत्र जैमिनी ऋषिले योगसाधना र तपस्या गरेको यस स्थलको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्न नगरपालिले योजना बनाएर कार्यान्वय थालेको हो। यसअघि जैमिनीधाममा यहाँको प्रसिद्ध माघे सङ्क्रान्ति मेला लाग्ने गरेकामा पछिल्लो केही वर्षदेखि उक्त मेला कुश्मिसेरामा लाग्ने गरेको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक २५ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend