शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

कालीगण्डकी करिडोर : म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै, आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक २५ २०८१
कालीगण्डकी करिडोर : म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै, आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

२४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँचवटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडिको र पाँचवटा पुल ठेक्का प्रक्रिया प्रारम्भ गर्न बाँकी रहेको छ।

म्याग्दी- राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका-३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ। 

एघार मिटर फराकिलो सडकमा टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, घुम्ती, लेभल मिलाउने, सबबेस, बेस राखिएसँगै कालोपत्र गर्न थालिएको हो।

नागढुङ्गा-कैकुखोला खण्डको १६ दशमलव पाँच किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न रु ६३ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताए। 

मुस्ताङको कैकुखोलादेखि घाँसा क्षेत्रमा गत वर्ष दुई किलोमिटर कालोपत्र भएको थियो। म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे, घोप्टे र बादरजुङ भिरको पहाडमा एक किलोमिटर छ सय मिटर सडकलाई फराकिलो बनाएर ढलान गरिएको छ। हालसम्म आयोजनामा ९० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए। 

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकालाई जोड्ने दुई सय दुई किलोमिटर लामो दुई लेनको सडक १० अर्बको लागतमा २०७३ सालदेखि कालोपत्र सुरु भएको हो। हालसम्म यो आयोजनाको ८४ प्रतिशत भौतिक प्रगति भएको छ। 

एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईँले बताए। 

२४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँचवटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडिको र पाँचवटा पुल ठेक्का प्रक्रिया प्रारम्भ गर्न बाँकी रहेको जानकारी उनले दिए। 

निर्धारित समयमा काम सम्पन्न नभएपछि आयोजना अवधि आव २०८२/८३ सम्म लम्ब्याइएको छ। सडक र पुल निर्माणका लागि सात अर्बको ठेक्का सम्झौता भएकामा गत असारसम्म ६ अर्ब खर्च भएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक २५ २०८१०९:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend